आणविक पनडुब्बीहरू तैनाथ गर्न ट्रम्पको आदेश

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवका ‘उत्तेजक र धम्कीयुक्त’ टिप्पणीलाई गम्भीर रूपमा लिँदै दुई आणविक पनडुब्बीहरूलाई ‘उपयुक्त क्षेत्रहरूमा’ तैनाथ गर्न आदेश दिएका छन् ।

ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले भने, ‘रुसी संघको सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका मेदभेदेवका अत्यन्तै उत्तेजक अभिव्यक्तिहरूको जवाफमा मैले दुई आणविक पनडुब्बीहरूलाई तैनाथ गर्न निर्देशन दिएको छु।’

ट्रम्पले पनडुब्बीहरू आणविक–सञ्चालित हुन् कि आणविक–हथियारसहितका भन्ने खुलाएका छैनन्। उनले तैनाथीको स्थानसमेत उल्लेख गरेका छैनन्, जुन अमेरिकी सैन्य प्रोटोकल अनुसार सामान्य प्रक्रिया हो । पत्रकारहरूसँग राष्ट्रपति ट्रम्पले भने, ‘एक धम्की आएको थियो, जुन हामीले अस्वीकार्य ठान्यौं। हाम्रो जनताको सुरक्षाका लागि म कुनै पनि खतरा अगावै व्यवस्थापन गर्न बाध्य छु।’

यसअघि मेदभेदेपवले युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको अल्टिमेटमको आलोचना गर्दै अमेरिकामाथि अप्रत्यक्ष रूपमा आणविक खतराको संकेत दिएका थिए। ट्रम्पले भनेका छन्, ‘शब्दहरू शक्तिशाली हुन्छन् र कहिलेकाहीँ अनपेक्षित परिणाम निम्त्याउन सक्छन्। आशा छ यो यस्तो उदाहरण नबनोस्।’

क्रेमलिनले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन, तर ट्रम्पको भनाइपछि मस्कोको सेयर बजारमा तीव्र गिरावट आएको छ।
ट्रम्प र मेदभेदवबीच पछिल्लो हप्ता सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ। विवाद यतिबेला चर्किएको हो, जब ट्रम्पले राष्ट्रपति पुटिनलाई ८ अगस्टभित्र युक्रेन युद्ध अन्त्य गर्न अन्तिम चेतावनी दिएका थिए। जुलाईको सुरुमा पनि ट्रम्पले पुटिनलाई ५० दिनको समयसीमा दिँदै रुसका तेल तथा अन्य निकासी वस्तुहरूमा कडा कर लगाउने चेतावनी दिएका थिए।

अमेरिका र रूस दुवैसँग विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ, र दुवै देशसँग दर्जनौं आणविक पनडुब्बीहरू परिचालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *