पाँडेको निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ बन्ने

काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ ।

बिहीबार खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताए ।

उनले भने, ‘एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्दैछौँ । आफ्ना अग्रज एवं समकक्षीसँग मिलेर पहिलो चलचित्र बनाउँदै छु, हामीले देखिरहेका र सुनिरहेका तर नसोचिएको विषयलाई समेटेर चलचित्र निर्माण हुनेछ ।’

‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गर्नेछन् ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा छायाङ्कन हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) ले कथा लेखन, अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखन तथा बुद्ध थापाले छायाङ्कन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *