काठमाडौँ । सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ । म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बिहीबार फेसबुकलाई अस्थायी रूपमा बन्द गरेको मोबाइल अपरेटर टेलिनोर म्यानमारले बताएको छ।
‘म्यानमारमा टेलिकम प्रदायकहरूलाई फेसबुक अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ । त्यहाँका नागरिकले आफ्नो परिवार र साथीहरूसँग कुराकानी गर्न सकोस् र महत्वपूर्ण सूचनाहरूको पहुँचमा रहोस् भनेर कनेक्टिभिटीलाई पुन:स्थापना गर्न हामी अधिकारीहरूसँग आग्रह गर्न चाहन्छौं,’ फेसबुकका प्रवक्ताले भने ।
फेसबुकले आफ्नो राष्ट्रमा अस्थिरता ल्याएको भन्दै सरकारले बन्द गर्न लगाएको हो । एनग्याजेडका अनुसार फेसबुकलाई फेब्रुअरी ७ मध्यरातिसम्म बन्द गर्न निर्देशन दिएको छ ।
