काठमाडौं। धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ। यही साउन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुल्ला गरिएको छ।
समय थप भएपछि यहाँ आउनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए। ‘बिहान ८ देखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ। समय थप हुँदा निकै राम्रो भएको छ। यहाँ आउनेहरू विगतमा निकै बढेका छन्’, उनले भने।
त्यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो। त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन्।
साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए। उनका अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० सङ्कलन भएको छ।
विसं २०८१ मङ्सिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ सङ्कलन भएको एकाइले जनाएको छ।