निजामती विधेयकमा आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा एमाले सांसदहरुले हालेको संशोधन आपत्तिजनक भएको बताएका छन् ।

राष्ट्रियसभामा एमाले सांसद गोपाल भट्टराईका अनुसार उनीसहित इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पाले निजामती विधेयकमा संशोधन प्रस्ताव हालेको भन्दै कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले सहमति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेकपा एमालेका सांसदहरुले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो ।’

उनले यसबारेमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ । साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।’

एमालेका पाँच जना सांसदले सरकारी कर्मचारलाई अवकाशपछि अन्य नियुक्तिमा कुलिङ पिरियड लागु गर्ने विषय नराख्न भन्दै संशोधन प्रस्ताव हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *