-डा. रामकृष्ण तिमल्सेना
नेपाललाई हेर्ने दृष्टिकोणमा आज दुईवटा पक्षहरू छन्– एक, निराशाको, अर्को, संकल्पको । एकातिर त्यस्ता आवाज छन्, जसले नेपाललाई सधैं पछाडि परेको, असफल, असहाय राष्ट्रका रूपमा चित्रण गर्छन्, अर्कातिर, ती आवाज छन्, जसले नेपालको संघर्षभित्र उज्यालो देख्छन्, समस्याभित्र सम्भावना खोज्छन्, र अतीतको छायाँभित्र भविष्यको ज्योति पहिचान गर्छन् । म दोस्रो बाटो रोज्छु । किनभने मेरो नेपाल केवल दुःखहरूको बास होइन, यो त चैतन्य चेतनाको जीवित धरोहर हो । एक यस्तो देश, जसले संसारलाई बुद्ध दिएको छ, जसको काखमा सगरमाथा अडिएको छ, र जसको हरेक खोल्सो, हिउँ, वन र बालकभित्र भविष्य लुकेर वसेको छ।
नेपाल सानो छ– भूगोलमा। तर चेतनामा ? सम्भावनामा ? त्यो संसारजत्तिकै विशाल छ । यहाँ पर्वत छन्, तर तिनले आशा जगाएका छन् । यहाँ हिमाल छन्, जसको छायाँमा जीवन जागृत हुन्छ । यहाँ कठिनाइ छन्, तर त्यही कठिनाइभित्र सहनशीलता, उद्यम र प्रेमको कोपिला पलाउँछ। यो देश केवल इतिहासको पाठ्यपुस्तक होइन, यो देश भविष्यको निर्माणशाला हो ।
कसले भन्यो नेपाल गरीब छ ?
कसले भन्यो नेपाल कमजोर छ ?
कसले भन्यो नेपाल संसारको अन्तिम हरफमा परेको देश हो ?
नेपाल त्यो देश हो, जहाँ १४२ भन्दा बढी जातजातिहरू एउटै आगन अगाडि बसेर अनुभव सँगाल्छन् । जहाँ भाषा फरक छन्, तर भाव एउटै । जहाँ खानपान, पोशाक, परम्परा र पूजा विधि फरक छन्, तर राष्ट्रप्रेम साझा छ । नेपालको यस्तो सामाजिक र सांस्कृतिक विविधता संसारकै समृद्ध उदाहरण हो—जुन अन्य राष्ट्रहरूले कृत्रिम रूपमा निर्माण गर्न खोजिरहेका छन् । हामी सधैं भनिरहन्छौं– हाम्रो सरकार कमजोर छ, हाम्रो नीति अस्थिर छ, हाम्रो प्रशासन अल्छी छ । ठीक छ, आलोचना गरौं, तर त्यो आलोचना विवेकयुक्त होस्। आलोचना यस्तो होस्, जसले हामीलाई व्यर्थताको भावमा होइन, निर्माणको बाटोमा उभ्याओस्। किनकि हाम्रो राष्ट्र निर्माण सरकारको मात्र जिम्मा होइन , त्यो हामी सबैको साझा उत्तरदायित्व हो।
नेपालमा सम्भावना के छ ?
पर्यटनमा छ –जहाँ हरेक डाँडा शिवलिंग र नागरिक कथा हो, हरेक खोला पवित्र तीर्थ हो । कृषिमा छ –जहाँ बिउ मात्रै होइन, परिश्रम टुसाउँछ । जलश्रोतमा छ– जहाँ संसारलाई उज्यालो दिने शक्ति सदावहनशील गण्डकी झैं बगिरहेको छ । मानवश्रोतमा छ–जहाँ युवा शक्ति रोजगारी मात्र होइन, सिर्जनाका लागि सक्षम छन्। संस्कृतिमा छ–जसले एकताको आवाज दिन्छ र सम्वेदनाको संगीत बजाउँछ । नेपाल संसारको उत्कृष्ट देश हुनुसक्ने संभावना छन् जहाँ प्रेम, पीडा, परिश्रम, प्रार्थना र परिवर्तन एकैसाथ जीवन्त छन्। अब प्रश्न यो हो – के हामीले यसलाई सही दृष्टिकोणबाट हेर्न सकेका छौं ?
जसरी जापानले दोस्रो विश्वयुद्धपछि उठेर आफूलाई विज्ञान र अनुशासनको राष्ट्र बनायो, जसरी दक्षिण कोरियाले शिक्षा र प्रविधिमा चमत्कार गर्यो, त्यसैगरी भूटानले gross national happiness लाई मूल मूल्य बनायो, त्यस्तै नेपालले पनि आफ्नो मार्ग बनाउन सक्छ। त्यो मार्ग अरूको नक्कल होइन, त्यो हाम्रो मौलिकताको यात्रा हुनेछ। अव हामी आफू बन्ने यात्रा सुरु गर्छौं ।
हामीलाई अहिले चाहिएको छ–तीन कुराः
१. आत्मविश्वास –आफूलाई कमजोर नभई सम्भावनाशील राष्ट्र मान्ने दृढता।
२. संकल्प–परिवर्तन अरूले होइन, हामीले गर्न सक्ने सहास।
३. संवेदना–नागरिक र राष्ट्रबीचको आत्मीय सम्बन्ध ।
अब समय आयो, हामीले ‘मेरो देश यस्तो छ’ भन्ने होइन, ‘मेरो देशलाई म यस्तो बनाउनेछु’ भन्न सक्ने शक्ति बोकेर अघि बढ्ने । अब समय आयो, पीडाको कथा भन्ने होइन, सम्भावनाका क्षेत्रको गणना गर्ने । अब समय आयो — आलोचना होइन, आचरणबाट राष्ट्र बनाउने । मेरो नेपाल केवल बाँचिरहेको देश होइन, यो पुनःजागरणको संघारमा उभिएको चेतना हो । अब यो चेतनालाई दिशाहीन आलोचना होइन, मूल्य मूल्यांकनयुक्त निर्माणको दृष्टि चाहिएको छ। यो देशलाई सुधार्न विदेशी सहयोग होइन, आत्मीय संलग्नता चाहिएको छ । नेपाल कमजोर होइन, नेपाल अपूर्ण सम्भावना हो । र त्यो सम्भावनाको रेखाचित्र हामी सबै नेपाली नागरिकहरूले कोर्नु छ । जय सम्भावना । जय संकल्प । जय नेपाल।