-टंक कार्की ।
हामीले जहाँ जे राम्रो काम गर्यौं जोगाऔं, जहाँ चुक्यौं सच्यायौं र जे नयाँ थप्नु पर्ने हो थपौं । अग्रगतिको निम्ति आफ्नो घोषित सामाजिक वर्ग आधारमा प्राथमिकताका साथ फर्किन र हाम्रो सामाजिक विविधताका शक्तिको समावेशितामा सन्तुलन ल्याउन र सामूहिक नेतृत्वलाई प्रतिष्थापित गर्न र सिङ्गो पार्टीको सामूहिक संज्ञानलाई आत्मबोध गर्ने गरी पार्टीलाई पुनर्जीवन दिनु बाहेकको विकल्प भनेको आत्मदाह नै हो ।
व्यक्तिको भूमिकालाई मान्दा मान्दै पार्टी भन्दा ठूलो, स्वयम्भू बनाउनु हुँदैन । विचार र नीति भन्दा नेता ठूलो हुन्न । यो पार्टी प्रणालीको कखरा हो जसलाई सिक्नु र सिकाउनु जरुरी छ । पार्टीमा मतभिन्नता हुन्छन् । त्यसको पछाडि हाम्रो सामाजिक विकासका आफ्नै दवाव छन् । तर साझापनलाई उपेक्षा गरेर भिन्न मताम्बली/हरुको उन्मूलनमा एकमना पार्टी निर्माणको सपना पाल्नु हुन्न । होइन त्यसैमा ढिंट गरियो भने त्यो पार्टी नभएर पन्थ संरचना हुन पुग्छ । यसैपनि त पार्टी नोकरशाही संयन्त्र होइन । जिम्मेवार र विवेकशील पार्टी त भिन्नतालाई उधिन्नमा होइन साझापनलाई प्राथमिकतामा राख्न र भिन्नता प्रति सहिष्णुभाव राख्दै क्रमशः सल्ट्याउँदै जाने पो गर्दछ ।
फुली ला’र नेता हुने या फुलीको सुक्रिबिक्री गर्ने पुरानो सामन्ती प्रचलन हो । पार्टी विचार, आचार र सामाजिक राष्ट्रिय मुद्धा र तिनको निष्ठामा चिनिने हो, बाँकी त फगत तामझाम । विभाजनमा आत्मरती गर्नु हुन्न बरु रोक्नमा कार्यकौशल देखाउन सक्नुपर्छ । ‘बाक्लो दाल खान’ खोज्नेहरुले अन्ततः तालुमा हात राखेको हामी आफैं प्रत्यक्षदर्शी छौं । विभाजनमा रमाउने त जोरीपारी न हुन् । नदीको मोहकता प्राकृतिक बहावमा हो थुनिनुमा होइन, त्यो अनिष्टकारी हुन्छ । दुनियाँ बदली रहेको छ हामी पनि बदलिनु पर्दछ ।