सावित्राले छाडिन् फ्रेन्च क्लब, न्युजिल्यान्डको विलिङ्टन फिनिक्समा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्सेली क्लब एन अभेन्ट ग्वेंगाम्प छोडेकी छिन् । सावित्राले बिहीबार सामाजिक सञ्जालमार्फत फ्रान्सेली क्लब छोडेको जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, “प्रिय एन अभेन्ट ग्वेंगाम्प परिवार, हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ। हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ। तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैँ आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।”

उनले गत सिजन ग्वेंगाम्पबाट १८ खेल खेल्दै ६ गोल गरेकी थिइन् । सावित्राले लिगको अन्तिम खेलमा सेन्ट इटिएन्नेविरुद्ध ह्याट्रिक गरेकी थिइन् भने चर्चित क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)विरुद्ध दुई गोल गरेकी थिइन् । सावित्रा युरोपको शीर्ष लिगमा खेलेर गोल गर्ने पहिलो नेपाली खेलाडीपनि हुन् ।

फ्रेन्च क्लब छोडेसँगै सावित्रा न्युजिल्याण्डको विलिङ्टन फिनिक्समा अनुबन्ध भएकी छिन् । अष्ट्रेलियाको लिग ए खेल्ने क्लबले बिहीबारनै सावित्रालाई अनुबन्ध गरेको जानकारी दिएको हो । सावित्राले क्लबसँग दुई वर्षको सम्झौता गरेकी छिन् ।

सावित्रा नेपाली राष्ट्रिय महिला फूटबल टोलीबाट सार्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले नेपालबाट ६० खेलमा ६६ गोल गरिसकेकी छिन् । यसअघि इन्डियन वुमेन्स सुपर लिग समेत खेलिसकेकी सावित्राले २४ खेलमा ६० गोल गरेकी थिइन् । उनले लगातार तीन सिजन वुमेन्स लिगको उपाधि जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *