लगानीकर्तालाई दुःख दिने भन्ने त कुरै छैन, ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा इप्पानको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ । दुःख दिने भन्ने त कुरै छैन । स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’

त्यस्तै उनले देशमा लोडसेडिङ अन्त्य र जलविद्युत् क्षेत्रमा निजी लगानी भित्राउन कांग्रेसको ठूलो भूमिका रहेको बताएका छन् ।
उनले आफू प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत भारत निर्यात भएको पनि उल्लेख गरे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण रहेको भन्दै सरकारको नारा ‘सरकारको साथ, निजी क्षेत्र चालक’ हुनुपर्नेमा उल्टै सरकारी निकायहरूकै कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएको बताए ।

अध्यक्ष कार्कीले बजेटमा ल्याइएको ‘टेक एन्ड पे’ प्रावधान, दुई वर्षदेखि रोकिएको सेयर निष्कासन (आईपीओ) र राष्ट्रिय निकुञ्ज क्षेत्रमा आयोजना निर्माणमा लगाइएको प्रतिबन्ध जस्ता विषयले निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *