काठमाडौं । घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत मन्त्री गुप्ताले राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्मा विभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’
कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए। एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टी भित्र र बाहिरबाट आइरहेको थियो।