धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

धरान (सुनसरी) । मदनभण्डारी राजमार्गअन्तर्गत धरान-चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।

यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

उहाँले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।

“रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने ।

कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।

उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *