मुगु । मुगुका १ सय ८ जना बालबालिकामा गम्भीर किसिमको कुपोषण रोग देखापरेको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालू आर्थिक वर्षको ६ महिने तथ्यांकअनुसार गत साउनदेखि पुससम्म जन्मिएका ६ महिनामाथिका ५ वर्षमुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका पोषण विज्ञ लोकबहादुर विकका अनुसार बालविवाह, परिवार नियोजनका अस्थायी साधन प्रयोग नगर्नु, पोषिलो खानेकुरा नहुनु र अशिक्षाका कारण यस्तो रोग देखापरेको हो ।
कुपोषण रोग न्यूनीकरण गर्न स्थानीय तहमा ठूलो बजेट भए पनि सही सदुपयोग नगर्दा सानै उमेरमा बालबालिका कुपोषित हुनुपरेको छ । मुगुमा ९.२ प्रतिशत बालबालिकामा गम्भीर कुपोषण र ४४ प्रतिशतमा मध्यम खाले कुपोषण देखिएको छ । गत साउनदेखि पुससम्म सबैभन्दा बढी साउनमा ४६ जना र मंसिरमा १९ जना बालबालिकामा गम्भीर कुपोषण देखिएको थियो ।
यीमध्ये ७३ जना बालबालिका उपचारपछि निको भएका र बाँकी ३५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लाका ४ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी छायानाथ रारा नगरपालिकाका र सोरु गाउँपालिकाका बालबालिकामा बढी कुपोषण देखापरेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका १ बालकमा मात्र कुपोषण देखिएको छ ।
गरिबी, पोषणयुक्त खानपिन नहुनु र सरसफाइ अभावमा दलित बालबालिकामा बढी कुपोषण देखापरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम नेपालीले बताए ।
स्थानीय उत्पादनभन्दा आयातित खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिका कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको अनुभव छ । कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना लाग्छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पीठो दिने गरिएको छ ।
‘लामो समयसम्म घरमा बच्चा बिरामी भएको थियो । जिल्ला अस्पतालमा उपचार गराउँदा कुपोषण भएको पत्ता लाग्यो । अस्पतालबाट पाइने पोषिलो पीठो खुवाउँदा केही सुधार आएको छ ।’ –सोरु गाउँपालिका–८ का कालिबहादुर कामीले भने ।
सदरमुकामभन्दा सोरु, मुगमकामारोङ, खत्याड गाउँपालिकाका स्थानीय बालबालिकामा कुपोषण बढी देखिएको कार्यालयले जनाएको छ ।
सय बढी बालबालिका गम्भीर कुपोषणको शिकार
