-डा. रामकृष्ण तिमल्सेना ।
गुरुपूर्णिमा: गुरुतत्त्वको बौद्धिक यज्ञ
‘अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशालाकया।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः॥’
गुरुपूर्णिमा केवल एक दिन होइन, यो जीवन परिवर्तनको अवसर हो। यो पर्व हामीलाई सम्झाउँछ कि संसारमा सबैभन्दा ठूलो सम्बन्धहरू मध्ये एक गुरु र शिष्यको सम्बन्ध हो। यो केवल सामाजिक संरचना होइन, वरु ब्रह्माण्डीय सूत्र हो। ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः’ भन्ने श्लोकले व्यक्त गरेको छ कि गुरु स्वयं त्रिमूर्तिहरूको स्वरूप हुन्। उनी जन्मदाताभन्दा पनि गहिरो मार्गदर्शक हुन्, जसले जन्म मात्र होइन, विचार जन्माउँछन्; जीवन मात्र होइन, बौद्धिक अनुशासनको संरचना निर्माण गर्छन्।
गुरुपूर्णिमाको उत्पत्ति वेदव्याससँग गाँसिएको छ। उनी मात्र पौराणिक लेखक होइनन्, ज्ञानका संरचनाकार हुन्। ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद , चारवटै वेदलाई पृथक बनाउँदै, तिनलाई उपवेद, उपनिषद् र इतिहाससँग जोड़्दै, व्यासले सनातन बौद्धिक परम्पराको आधार निर्माण गरे। त्यसैले आजको दिन केवल उनको स्मृति मात्र होइन, प्रत्येक गुरु शिष्य परम्पराको आदर्श आधारशीला पनि हो।
बौद्ध परम्परामा पनि आजकै दिन गौतम बुद्धले सारनाथमा पहिलो प्रवचन दिएर धर्मचक्रको महत्व बुझाउन थाले। शिष्यहरू , काश्यप, आनन्द, सारिपुत्र आदि गुरुको दृष्टिमा शुद्ध समर्पण थिए। ‘आत्म दिपो भव’ अर्थात् आफैंमा उज्यालो बन्, भन्ने बुद्धको वाक्यले आत्मज्ञानमा गुरुको भूमिका कस्तो हुन्छ भन्ने व्याख्या गर्छ र गुरु त्यो हुन जसले हरेक आत्मालाई आफ्नै प्रकाशबाट जगाउँछन्।
युरोपेली परम्परामा ‘गुरु’ शब्द नभए पनि त्यसको समानार्थी अर्थ सँगसँगै विकसित भयो। प्लेटोले सुकरातको मृत्यु पछि Academy स्थापना गरे, जुन इतिहासकै पहिलो संस्थागत ज्ञान केन्द्र हो। अरस्तुले अलेक्ज्याण्डरलाई शिक्षादिए, केवल शासनशास्त्र होइन, धैर्यता, विवेक र वैश्विक दृष्टिकोण सिकाए । त्यसैले पश्चिममा ‘Mentor’, ‘Master’, वा ‘Professor’ को अवधारणा गुरु तत्त्वकै परिवर्तित स्वरुप हुन्। तर ती सम्बन्धहरू सधैं तर्क र आलोचनामुखी रहे। भावना र समर्पणको पक्ष तुलनात्मक रूपमा न्यून रहे।
यिनै कारणले गर्दा पूर्व र पश्चिमको शिक्षण परम्परामा दर्शन फरक देखिन्छ। भारतमा गुरुको सन्देश मात्र होइन, जीवनशैली समेत ग्रहण गरिन्छ। श्रवणं, मननं र निदिध्यासनं , यी तीन चरण गुरुको शिक्षण प्रणालीका स्तम्भ हुन्। पश्चिममा भने Socratic Method, Dialectics, Empiricism जस्ता प्रविधिहरू शिक्षणको प्राविधिक मूल्यहरू हुन्, जसले आलोचनात्मक सोचलाई बल दिन्छन् तर अस्तित्वको मार्गदर्शनमा अपूरो लाग्छन्।
आज गुरुपूर्णिमाको सन्दर्भमा हामीलाई आधुनिकतामा गुम्न थालेको गुरु तत्त्वलाई पुनःस्थापित गर्न आवश्यक छ। आज गुरुको स्थान स्कूल, युनिभर्सिटी, अनलाइन प्लेटफर्म हुँदै कृत्रिम बुद्धिमत्तासम्म आइपुगेको छ। तर के AI वा Google Guruले त्यो भावात्मक रूपान्तरण दिन सक्छ जुन विदेह गुरु जनकले याज्ञवल्क्यलाई दिएका थिए? जसरी वेदान्तले भन्छ ‘स गुरुरेव न गुरुः’, अर्थात् जसले केवल विषय सिकाउँछ त्यो गुरु होइन, तर जसले दृष्टि दिन्छ ; केवल बौद्धिक होइन।आत्मिक। त्यस्तो व्यक्ति नै सच्चा गुरु हो।
आधुनिक नेपालमा पनि गुरु संस्कार गहिरिएको छ कि होइन भन्ने प्रश्न उठ्न थालेको छ। शिक्षकहरू श्रमजीवी मात्र भएर बांचे । शिक्षण व्यापारजस्तो भयो र विद्यार्थीहरू ग्राहक जस्ता भए। यस्तो अवस्थामा गुरुपूर्णिमा केवल ‘कविता प्रतियोगिता’ वा ‘फूल अर्पण’ मा सीमित हुनु हुँदैन । यो दिन बौद्धिक समीक्षा र आत्मालोचनाको पर्व बनाउनु पर्छ। आजको गुरुहरूले केवल किताबी ज्ञान होइन, नैतिकता, संवादशक्ति, समावेशी दृष्टिकोण, तथा सत्य, साहस र सेवा जस्ता जीवनमूल्य दिनुपर्छ।
भविष्यमा गुरुपूर्णिमा डिजिटल, विश्वव्यापी र अन्तर-संवादात्मक बनोस्। विश्वविद्यालयहरूमा ‘गुरु साप्ताहिक उत्सव’, शिक्षकद्वारा जीवनमा फर्काइएका विद्यार्थीहरूको साझा सन्देश, शिक्षण विधिका नवीन अन्वेषणहरू र गुरुहरूको दार्शनिक पुनर्परिभाषा गरनुपर्छ। शिक्षालाई केवल ‘पाठ्यक्रम’ होइन, ‘संस्कार’ बनाउनुपर्छ जहाँ विद्यार्थी केवल डिग्री होइन, दृष्टिकोण बोक्छन्।
यसै सन्दर्भमा, उपनिषद्को यो वाक्यले आजको चिन्तनलाई सुन्दर बनाउँछ ।
‘तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत्… समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम्।’
(तत्वज्ञान प्राप्त गर्न, समर्पण र विनयपूर्वक त्यस गुरुसँग जानु पर्छ, जो वेदमा पारंगत छन् र ब्रह्मनिष्ठ छन्।)
अन्ततः गुरुपूर्णिमा त्यो बिन्दु हो जहाँ ज्ञान, श्रद्धा र मानवता एउटै ठाऊमा मिल्छन् । तस्मै श्रीगुरवे नमः।