बीबीसी । अमेरिकाको टेक्सास राज्यमा आएको भीषण आकस्मिक बाढीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने बालिकाहरूको ग्रीष्मकालीन शिविरमा रहेका करिब २५ जना अझै बेपत्ता भएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘आश्चर्यजनक’ र ‘भयानक’ भन्दै समवेदना व्यक्त गरेका छन्। टेक्सासका गभर्नर ग्रेग एबटले संघीय सरकारबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको जनाएका छन्।
उनका अनुसार रातभर उद्धार कार्य जारी रहे पनि बेपत्ता व्यक्तिको सङ्ख्या अझै पुष्टि हुन सकेको छैन । टेक्सासका उपगभर्नर ड्यान प्याट्रिकका अनुसार बाढी अत्यन्त तीव्र गतिमा आएको थियो । ‘केवल ४५ मिनेटमै ग्वाडालुपे नदी २६ फिटले बढ्यो र यसले जनधनमा ठूलो क्षति पुर्यायो,’ उनले भने ।
प्याट्रिकका अनुसार उद्धार कार्यका लागि १४ हेलिकप्टर, १२ ड्रोन, ९ टोलीसहित पानीमा काम गर्ने पौडीबाजसमेत गरी करिब ४००–५०० जनाको टोली परिचालन गरिएको छ । टेक्सासका मेजर जनरल थोमस स्वेल्जरले २३७ जनालाई सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए ।
राज्यका विभिन्न स्थानमा आकस्मिक बाढीको सम्भावना कायमै रहेको जनाइएको छ। अधिकारीहरूका अनुसार केही घण्टाभित्रै महिनौँ बराबरको वर्षा हुँदा यस्तो खतरनाक अवस्था उत्पन्न भएको हो।