रास्वपाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा लिएको अडान कायम राखी प्रतिरोध जारी राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा लिएको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले संसदको राज्य व्यवस्था समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार भएको ठहर गरेको छ ।

बैठकले कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन्देखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारवाही गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

त्यस्तै बैठकमा आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि बैठकमा पेश भएको उम्मेदवार छनौट विधिमा छलफल भएको छ ।

बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ । साथै पार्टीले रुपन्देही–३ मा त्यहाँका आम नागरिक, पार्टी शुभेच्छुकहरू समेतको चाहना अनुसार छनोट विधि मार्फत् योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *