काठमाडौं । कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा फराकिलो जित निकालेको छ । आइतबार बेलुकी सम्पन्न पहिलो खेलमा लाओसलाई ९-० गोलले हराउँदै नेपालले छनोटमा शानदार शुरुवात गरेको हो ।
उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले चार गोल गर्दा रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, सरु लिम्बू र अनिता केसीले समान एक/एक गोल गरे । नेपालले एक गोल उपहार पाएको हो । नेपालले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको हो ।
पहिलो हाफको १२ औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ४४ औँ मिनेटमा सावित्राले अनिताको क्रसमा हेडर गोल गर्दै नेपाललाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् । ४७ औँ मिनेटमा सरुले गोल गर्दै नेपाललाई फराकिलो जिततर्फ अगाडि बढाएकी थिइन् ।
५५ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई खेलमा ४-० गोलले अगाडि बढाइन् । एक मिनेटपछि रश्मीले गोल थप्दा नेपालले खेलमा ५-० गोलको अग्रता बनाएको थियो । यस्तै ७५ औँ मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर नेपाललाई ६-० गोलले अगाडि बढाएकी थिइन् ।
चार मिनेटपछि सावित्राले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ७-० गोलको अग्रता दिलाइन् । ८३ औँ मिनेटमा अनिता केसीले गोल गर्दै नेपाललाई ८-० गोलको स्थितिमा ल्याएकी थिइन् । यस्तै ८९ औँ मिनेटमा सावित्राको प्रहार विपक्षी खेलाडीलाई लाग्दै पोस्टको दिशा लिएपछि नेपाल खेलमा ९-० गोलले विजयी भएको थियो ।
जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।
