बाढीपहिरोले डोल्पाको रिबा गाउँमा ५३ घरमा क्षति

डोल्पा । हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकामा गएरातिको अविरल वर्षापछि आएको बाढीपहिरोले करिब ५३ घरमा क्षति पुर्याएको छ ।

गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने रिबा गाउँमा पूर्ण, आंशिक र सामान्य गरी करिब ५३ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार चार घरमा लेदो पस्दा पूर्ण क्षति भएको छ भने पुथा आधारभूत विद्यालयको चारकोठे कच्ची भवन पूर्ण रूपमा क्षति भएको छ । बाढीबाट विद्यालयका कम्प्युटर, सीसीटीभी, दिवा खाजा, भवन संरचनालगायतमा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीबार मध्यराति आएको बाढीले करिब १ करोड ८४ लाख रुपैयाँबराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आठ घरमा आंशिक क्षति र बाँकी घरमा सामान्य क्षति पुगेको छ ।

हालसम्म जनधन तथा पशुचौपायाको क्षति नभएको जनाइएको छ । वर्षापछि एक्कासी आएको लेदोसहितको बाढीले खेतबारीमा लगाइएको बालीनालीमा समेत असर पुर्याएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *