काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।
कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्नेछिन् ।
उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।
सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।
उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए।