बेला न कुबेला नेतृत्वको बहस गरेर पार्टीमा विभाजनको वातावरण नबनाऔंः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवालाई विदेश पलायनबाट रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली युवा बाध्यताले मात्र विदेश गएका नभई विदेश जाने रहर पनि भएको बताएका हुन् ।

उनले यो लाहुरे संस्कृतिकै निरन्तरता भएको स्पष्ट पारे । हिजो भारतमा ठूलो सङ्ख्यामा जाने युवाहरू आज तेस्रो मूलकमा जाने गरेका पोखरेलले बताए । उनले नयाँ पुस्तालाई राज्य, राजनीति र समाजसँग जोड्दा मात्र उनीहरूको पलायन रोक्न सकिने बताए । सरकारको अहिलेको बजेट र कार्यक्रमले नयाँ पुस्तालाई नेपाल निर्माणको आधार बनाउने प्रयत्न गरेको उनले दाबी गरे ।

बजेटका सन्दर्भमा केही गुनासा र आलोचना भए पनि समग्रमा बजेट सन्तुलित र प्रभावकारी भएको उनले बताए ।
उनले आधुनिक राष्ट्र निर्माणको पर्याय नेकपा एमाले भएको दाबी गरे । उनले भने, ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन कामद्वारा आफूलाई पुष्टि गर्दछ, विगतका शासकको दिमागमा चढ्दै नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’

उनले अहिले पार्टी नेतृत्वका विषयमा बहस गर्ने बेला नभएको भन्दै बेला न कुबेला नेतृत्वको बहस गरेर पार्टीमा विभाजनको वातावरण बनाउन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *