मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।
आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत वैशाख २६ गते क्र्याक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पूरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए ।
सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८/७९ सो पुल ठेक्का लगाइएको थियो । सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।
पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ ।
यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो ।