मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ । शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले खुर्कोटदेखि काभ्रेभञ्ज्याङ सडक खण्डमा आइतबारदेखि आगामी १५ दिनसम्म रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको जानकारी दिए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा रोक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको छ ।
गतवर्षको असोजमा गएको बाढीपहिरोले राजमार्गमा ठूलो क्षति भएको थियो । अहिले राजमार्गमा अस्थायीरुपमा यातायात संचालन भइरहेको छ । राजमार्ग पुनर्निर्माणका लागि ठेक्का सम्झौताको काम भइरहेको छ । ठेक्का लागेपछि सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।