काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू।’
आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध पाण्डेले जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि गुरागाइँले कारबाही गरेका थिए ।
काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो।