विद्यालाई एमाले नेतृत्वमा पुर्याउन कति सम्भव ?

-केशवप्रसाद भट्टराई

१. १९४७ देखि आजसम्मको इतिहास हेर्दा भारतमा हरेक १०–१५ वर्षको अवधिमा शासन र शासनको चरित्रमा परिवर्तन हुने गरेको छ । त्यो परिवर्तनले क्षेत्रीय र विश्वको शक्ति सन्तुलनमा नै प्रभाव पार्ने गरेको छ ।

२. चीनमा त्यस्तो परिवर्तनको लागि १५–२० वर्ष लाग्ने गरेको छ । तर त्यो १५–२० वर्षमा हुने परिवर्तनले शासनको मूल स्वरूप उस्तै भएपनि त्यसको चरित्रमा भने मूलभूत परिवर्तन हुने गरेको र त्यसको प्रभाव विश्वव्यापी हुने गरेको छ । तर भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ्गले ल्याएको परिवर्तनले उनीहरू सत्ताबाट हटेको अर्को २० वर्षसम्म पनि त्यहाँको अन्तरिक राजनीति र विश्व सम्बन्धमा त्यसको असर रहिरहने विश्वास गरिन्छ ।

३. तर त्यसको लागि नरेन्द्र मोदीको बाँकी कार्यकालमा मुलुकको आन्तरिक शान्ति र एकताको साथै राष्ट्रको अर्थतन्त्रलाई अपेक्षा मुताविक विश्वको तेस्रो बनाउन उनी सफल भए, र अमेरिकासँगको सम्बन्धलाई ट्रम्पको पहिलो कार्यकाल र बाइडेनको कार्यकालको स्तरमा लैजान सके भने मात्रै उनी पछिको अर्को १०–१५ वर्ष पनि उनको पार्टीको शासन नै भारतमा रहला । तर काङ्ग्रेसको मूल नेतृत्वमा राहुल गान्धी नै यथावत रहिरहे भने त्यसले मोदी र भाजपाको असफलतालाई भारतीय मतदाताले उपेक्षा गर्ने स्थितिनै बन्ने स्वतः सिद्ध देखिन्छ ।

४. चीनमा च्याङ्ग काइशेक, माओ , देङ्ग पछि सी जिन्पिङ्ग त्यस्तो व्यापक परिवर्तनका नायक बनेका छन् । माओ, देङ्ग, कन्फ्युसियस, सुनत्सु आदिको विचार र रणनीतिलाई एकै ठाउँमा मिलाएर निर्माण भएको सी विचारधाराको प्रभाव चीनका युवा कम्युनिस्ट नेताहरूमा व्यापकरूपमा परेको अनुमान गरिएको भएतापनि–सीको आक्रामक क्षेत्रीय र विश्व रणनीतिले प्रतिकूल परिणाम दिनथालेको र त्यसले चीनिया अर्थतन्त्रलाई गतिदिन नसकेमा चीनमा अर्को तियाननियानमेन विद्रोहको सम्भावना नकारिहन सकिन्न । तर त्यस्तो विद्रोहको लागि अमेरिकाको अर्थतन्त्र अत्यन्त मजबूत भएर उसको विश्वव्यापी प्रभावमा व्यापक वृद्धि हुनु आवश्यक हुन्छ । त्यो त्यति सजिलो लाग्दैन ।

५. डोनाल्ड ट्रम्पले मुलुकको अर्थतन्त्रलाई मजबूत बनाउन सक्लान् तर अमेरिकाको विश्व्यापी प्रभाव बढाउने सवालमा उनी कमजोर नै होलान् । र उनी पछिको अर्को चार वर्षको लागि आउने अमेरिकी नेतृत्वको चार वर्षे कार्यकाल पनि त्यसको लागि पर्याप्त नहोला । अमेरिकाको विदेश नीतिमा ठूलो परिवर्तन अलि ढिलो हुने गरेको छ तर १९६९मा रिचार्ड निक्सन राष्ट्रपति भएदेखि जिमी कार्टर, रोनाल्ड रेगन, जर्ज बुश (सिनियर) बिल क्लिन्टन , जर्ज बुश ( जुनियर) , बाराक ओबामा, जो बाइडेनको कार्यकालमा गृहराजनीतिमा थोरै र अन्तर्राष्ट्रिय राजनीतिमा ठूला ठूला परिवर्तन भएका छन् । तर डोनाल्ड ट्रंपको प्रथम र दोस्रो कार्यकालमा गृह राजनीति र विदेश नीतिमा ठूलो परिवर्तन देखियो–प्रथम कार्यकालको तुलनामा उनको दोस्रो कार्यकाल उथलपुथलकारी हुने निश्चित देखिन्छ । बाँकी कार्यकालमा उनले उनका नीतिका कारण उठेका आन्तरिक र वाह्य असन्तोष , विरोध र विवादलाई व्यवस्थापन गर्न सकेनन् भने स्वयं उनको राष्ट्रपतिको पद सुरक्षित हुँदैन कि ?
तर यहाँ अर्को विचारणीय कुरो के देखिन्छ भने उनले अहिलेसम्म जे जे गरेका छन् त्यसवारे उनले आफ्नो निर्वाचन अभियानमा प्रष्ट पारेका थिए । जे गर्छु भनेर आएका थिए –त्यही गरिरहेका छन् । उनका मतदाता र प्रशंसकहरूको समर्थनको ग्राफ उक्लिएको वा झरेको वारे सही अध्ययन भए जस्तो लाग्दैन – हिजो ट्रम्पको विरोधमा उग्र भएर लागि परेका मूलधारका अमेरिकी मिडिया र वौद्धिक समुदाय आज पनि त्यही स्थितिमा छन् ।

६. अमेरिकाको शक्ति र प्रभावमा ह्रास आएको कुरा जति गरेपनि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको यो तीन –चार महिनामा अमेरिका भित्र र विश्वभर उनका आदेशले आएका परिवर्तनको परिणाम विश्वको कुनाकुना सम्म पुगेको छ । विश्व राजनीति नयाँ विन्दुमा आइपुगेको छ । त्यही हो अमेरिकाको शक्ति र अमेरिकाको प्रतिद्वन्द्वी मानिएको चीनले अमेरिका नभए म छु भनेर आउन सकेको छैन । विश्व व्यवस्था र वर्तमान विश्वको रणनीतिक सन्तुलनलाई नै बिथोल्ने गरी युक्रेनमाथि रूसले गरेको आक्रमण र इजरायली नागरिकहरूमाथि इरानद्वारा संरक्षित, पालित पोषित हमासद्वारा भएको आतंककारी आक्रमण र, त्यही क्रममा हमास जस्तै इरानद्वारा पालित पोषित र संरक्षित हेजबुल्लाह र हुथीहरूको आक्रमण समेत बेहोर्दै तिनलाई मोटामोटी परास्त गर्दै हाल आएर इरानमाथि इजरायलले गरेको आक्रमण र इरानद्वारा भएको प्रत्याक्रमण पछि विश्व व्यवस्था यथास्थितिमा नरहने त बताइन्छ । तर वैकल्पिक विश्व व्यवस्थाको नेतृत्व लिने अर्को शक्ति नदेखिएको परिवेशमा विश्व अस्तव्यस्त हुँदै जाने देखिन्छ । विश्वलाई त्यस्तो अस्तव्यस्तताबाट मुक्ति दिने क्षमता धेरथोर अमेरिका र युरोपसँगै छ तर कति क्षति पछि त्यो भने भन्न सकिन्न ।

अब नेपाल सन्दर्भमा प्रवेश गरौँ !

७. नेपालको हकमा त हरेक १०–१२ वर्षमा राजनीतिक नेतृत्व र व्यवस्थाको चरित्रमा मात्रै नभएर व्यवस्थाकै विरूद्ध जन दवाव निर्माण भई व्यवस्थाको मूलभूत चरित्र र स्वरूपमै परिवर्तन हुने गरेको छ । नेपालको आन्तरिक राजनीतिको चरित्र र विश्व सम्बन्धमा भारतीय प्रभाव निर्णायक रहने पृष्ठभूमिमा नेपालका त्यस्ता सवै परिवर्तनहरूमा भारतीय भूमिका रहने गरेको छ । वर्तमान सन्दर्भमा पनि भारतले अर्को भूमिका नखेलेमा नेपालमा आन्तरिक असन्तुष्टिको स्तरमा जति वृद्धि भएपनि काङ्ग्रेस र एमालेको संगठन, प्रभाव र विश्व सम्बन्धले वर्तमान राज्य व्यवस्थाको विकल्प सम्भव देखिन्न । विकल्पमा आउने दावी गर्ने दलहरू र समूहहरूले पनि काङ्ग्रेस र एमालेलाई केही क्षति पुर्याए पनि काङ्ग्रेस र एमालेको विकल्प बनेर आउने स्थिति छैन जस्तो लाग्दछ । हो काङ्ग्रेस र एमालेमा ठाडो विभाजन आयो भने यसै भन्न सकिन्न ।

८. र आफ्नै राजनीतिक स्वार्थ, कुण्ठा र आग्रहका कारण अन्य कम्युनिस्ट पार्टीहरूको विद्या भण्डारीको पक्षमा देखिएको राजनीतिक मोह र लगावले विद्यालाई एमालेको नेतृत्वमा स्थापना गर्ने उनीहरूको आन्तरिक रणनीतिमा चीन समेत मिसिए पछि भारत ओलीप्रति नरम हुन सक्दछ । तर ओलीप्रति भारतको दृष्टिकोण त्यति सहज र सकारात्मक नभएको र ओली पक्षबाट त्यसलाई सुधार्न सार्थक पहल नभएको अबस्थामा भारतले पनि आफूलाई विद्याको पक्षमा उभ्याउने सम्भावनालाई नकार्न सकिन्न । त्यसो भयो भने विद्याको सत्तारोहण निकै सहज हुने देखिन्छ ।

९. काङ्ग्रेसमा ठाडो विभाजन गराउन वाह्य पक्ष कसरी लागेको छ त्यो प्रष्ट नभए पनि आन्तरिक असन्तुष्टिले काङ्ग्रेसलाई विभाजनको आत्मघाती प्रवृत्तितर्फ नदोहोर्याउला भन्न सकिन्न । शेरबहादुर देउवाको जति आलोचना गर्न पनि सकिन्छ । उनी आलोचना योग्य नभएका पनि होइनन् । तर तुलनात्मक रूपमा पार्टी भित्रका असन्तुष्टिलाई व्यवस्थापन गर्ने सवालमा उनी जत्तिको लचिलो नेता अन्य दलमा मात्र होइन स्वयं काङ्ग्रेस भित्र पनि देखिन्नन् । उनी समान राष्ट्रव्यापी प्रभावको अन्य नेतृत्व अनुपस्थित भएको अवस्थामा यसै पनि आन्तरिक दलीय अनुशासनको मामिलामा अत्यन्त फितलो काङ्ग्रेसमा आगामी महाशिवेशन पछि आउने नेतृत्वले काङ्ग्रेसलाई एक गराएर राख्न सक्छ–सक्दैन त्यो सवाल भने छ । त्यसले काङ्ग्रेस र गणतन्त्रको भविष्य निर्धारण गर्दछ ।

१० . यहाँ के बुझ्नु पर्ला जस्तो लाग्दछ भने काङ्ग्रेस वा एमाले मध्ये कुनै एक दलमा ठाडो विभाजन भयो भने त्यस्तो विभाजन गराउने आन्तरिक र वाह्य शक्तिले अर्को दललाई पनि विभाजन गराएर ८० र ९० सिटका दललाई पालैपालो सरकार बाहिर राखेर २०–२२ र ३२ सिटको दललाई सरकार सुम्पिने जस्तो विगतको अभ्यासको पुनरावृत्ति हुनेछ नै ।

नेपालमा नियन्त्रित अस्थिरताको स्थिति निर्माण गरेर आफ्ना रणनीतिक स्वार्थ सिद्ध गर्ने भारतीय लक्षबारे स्वयं नेपालका लागि भारतका राजदूत भैसकेका व्यक्तिले लिखतमै स्वीकार गरेका छन् । त्यस अवस्थामा विभाजित काङ्ग्रेस र एमालेसँग मुलुकमा हुने व्यापक राजनीतिक परिवर्तनलाई रोक्ने र छेक्ने सामथ्र्य नहुने अवस्थामा देश कतातिर जान्छ भन्न सकिन्न । यहाँ के स्पष्ट हुनु आवश्यक छ भने त्यस अवस्थामा पनि भारत , चीन, अमेरिका लगायतका वाह्य शक्तिहरू राजाको पक्षमा हुने छैनन् ।

११ . राजा महेन्द्रको कार्यकालमा शीत युद्ध चरम विन्दुमा पुगेकोले नेपालबाट राजसंस्थालाई विस्थापन गर्ने वारे उनीहरूले कुनै रणनीति निर्माण गरेनन् तर शीत युद्ध शिथिल हुने वित्तिकै राजा वीरेन्द्रको राज्याभिषेक लगत्तै त्यो प्रयास शुरुभयो । त्यसमा राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र दुवैले यथार्थवादी कूटनीति र रणनीति अवलम्वन गर्न सकेनन् र मुलुकको परराष्ट्र नीति राष्ट्रवादी नारा र अन्यौलको बन्दी रहिरह्यो । यथार्थवादी विदेश नीति र व्यापक सहभागितामूलक आन्तरिक राजनीतिक व्यवस्थापनद्वारा मुलुकको दीर्घकालीन हित के मा छ भन्ने सवालमा राजाहरूको ध्यान नपुग्दा आज देश यो स्थितिमा छ ।

१२. यहाँ काङ्ग्रेस, एमाले र माओवादीको कुरा गर्दा ती दलको नेतृत्वले त देश र जनताको कुरै छोडौं आफ्नै दलको स्वार्थ पनि हेर्न सकेका छैनन् । तर पनि एमाले हिजोको सङ्गठनको बलमा आज पनि देशको सवैभन्दा शक्तिशाली राजनीतिक दल बनेकै छ । एमालेको त्यो संगठन र शक्तिलाई छिन्न –भिन्न पार्न विपक्षले विद्या कार्डको रूपमा एक अचूक अश्त्र फेला पारेको छ । तर विपक्षले विद्या अश्त्रलाई उपयोग गर्न सफल भएमा त्यसले ओलीलाई मात्रै नभएर प्रचण्ड, माधव नेपाल,झलनाथ आदि प्रथम पङ्क्तिका कम्युनिस्ट नेताहरूलाई पनि नेतृत्वबाट विदा गराउने बलियो सम्भावना देखिन्छ । आफूलाई नेतृत्वमा स्थापना गर्ने उद्देश्यले उमेरलाई योग्यता र उमेरलाई नै अयोग्यता मान्नेहरूले निर्माण गरेको राजनीतिक नाराको दवाव सबै दलका मूल नेतृत्वले अनुभव गरिरहेकै छन् ।

१३ . अर्कोतर्फ काङ्ग्रेस विपी, सुवर्ण, किसुनजीहरूको छवि र भगवान भरोसे जीवित छ । यहाँ के विचारणीय छ भने काङ्ग्रेस मूलत राजनीतिक भन्दा पनि सामाजिक शक्ति हो । यसले चुनाव लड्छ, महाधिवेशनबाट विभिन्न तहमा नेतृत्व चयन गर्दछ तर संगठन र जनता कहीँ जोडिन्नन् । काङ्ग्रेसका मतदाताहरू नेतृत्व र संगठन नजोडिए पनि झण्डा, चुनाव चिन्ह र विपी, सुवर्ण, गणेशमान, किसुनजी र गिरिजा बाबुहरूसँग प्रतक्ष र परोक्ष जोडिएकाहरू नै काङ्ग्रेसका सुरक्षित भोट बैंक हुन् । ती स्वर्गीय नेताहरूको व्यक्तित्वको वरिपरी निर्मित र भोट बैंकको रूपमा ती मतदाताहरू बुढ्यौलीमा प्रवेशगरिसकेको परिप्रेक्षमा उप्रान्तका दिनहरूमा नयाँ र युवा समुदायमाझ काङ्ग्रेस कसरी पुगेको छ र पुग्दछ भन्ने कुरा भने स्पष्ट हुन बाँकी नै छ ।

१४. माथि उल्लेख गरिए जस्तै विपी, सुवर्ण, किसुनजी,गणेशमानजी गिरिजाबाबुहरूको व्यक्तित्वको वरिपरी निर्मित र निजी महत्वाकांक्षा शून्य प्रौढ र बुढ्यौलीमा प्रवेश गरेका मतदाता काङ्ग्रेसको मूल जनाधार हो । तर मतदाताको त्यो स्वाभाविक रूपमा दृष्यबाट ओझेल हुँदै गइरहेका अवस्थामा काङ्ग्रेसले त्यसको भर्ताल कसरी गर्दछ, भविष्यले नै बताउला । तर गत आमनिर्वाचनमा अपवादको अवस्थामा बाहेक एक्लै चुनाव लडेको एमाले र पाँच दलसँग चुनावी गठबन्धन गरेर निर्वाचमा गएको काङ्ग्रेसको संसदीय उपस्थिति झन्डै हाराहारी रहेको र समानुपातिक मतमा एमालेले उछिनेको अवस्थामा काङ्ग्रेसको भोलिको चुनावी सम्भावना कस्तो हुनेछ अनुमान बाहिर नहोला ।

काङ्ग्रेसले आफू विपी, सुवर्ण, किसुनजीहरूको मूल्य र मान्यताबाट विपरित बाटोमा हिँडेको भएपनि विपी, सुवर्ण, किसुनजीहरूलाई मार्केटिङ्ग गरिरहेको छ र एमालेले पनि त्यसैगरी पुष्पलाल, मदन भण्डारी र मनमोहनलाई मार्केटिङ गरिरहेको छ !

१५ . कुनै समय राजनीतिमा केपी ओलीको बजार भाऊ पुष्पलाल, मदन भण्डारी र मनमोहनहरू भन्दा माथि चढिसकेको थियो । विपी कोइराला पछिको विराट राजनीतिक व्यक्तित्व निर्माण गरिसकेका थिए ओलीले । तर कतिपय आफ्नै कारणले र उनको शक्तिशाली र प्रभावशाली व्यक्तित्वबाट आफूले राजनीतिक असुरक्षा भोगेकाहरूको राजनीतिक कुण्ठा, आग्रह र द्वेष मिस्रित एकोहोरो प्रहारले पनि हिजो आज त्यो ग्राफ निकै तल झरे जस्तो लाग्दछ । तर पनि उनलाई चुनौती दिन सक्ने अर्को राजनीतिक व्यक्तित्व पार्टी भित्र र वाहिर नदेखिएको अवस्थामा मुलुकको राजनीतिलाई निर्णायक दिशा दिनसक्ने उनको राजनीतिक व्यक्तित्व र क्षमतालाई नकार्न नसकिएला । तर पार्टी नेतृत्वमा विद्या भण्डारीलाई स्थापना गराउने मुलुक भित्र र बाहिरको बलियो प्रयासको परिणाम ओलीलाई आउने महाधिवेशनले निरस्त गर्ने सम्भावनालाई नकार्न सकिन्न र विद्या भण्डारीले विगतमा माधव नेपालले र वर्तमानमा केपी ओलीले दिए जस्तो सवल नेतृत्व दिन सहज र सम्भव लाग्दैन, त्यस अवस्थामा एमालेको भविष्य के हुने हो समयले मात्रै बताउला।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *