-डा. युवराज संग्रौला
१. जीवनको नियमः उत्पत्ति, रूपान्तरण र विलय
जीवनको प्रत्येक तहमा उत्पत्ति र विलयको प्रक्रिया लागू हुन्छ। बाल्यकाल विलीन हुँदै युवावस्था उत्पन्न हुन्छ, त्यसैगरी सामाजिक र राजनीतिक संरचनाहरू पनि परिवर्तनशील छन् । तर यो परिवर्तन स्वतःस्फूर्त नभई दर्शन, विचार र आवश्यकताको विश्लेषणबाट निर्देशित हुन्छ । दर्शनले प्रणालीको लागि जग निर्माण गर्दछ्न। नेपाली सभ्यता पुरानो छ र नेपाल संसारमा सबै भन्दा पुराना सिमित देशहरू मध्य एक हो। यस सभ्यताले कपिलको साम्ख्य दर्शन, जसले विरोधाभाषको विमर्शको सिद्धान्त दिएको छ, बुद्ध दर्शन, जसले अस्थायित्वको सिद्धान्त, गार्गी, जसले अस्तित्ववादको सिद्धान्त र नारद, जस्ले कानुनशास्त्र दिएका छन् । यज्ञवलल्यक, जनक, र मुन्धुमका रचयिता पनि नेपाली नै हुन् । यी सबै दर्शनले नेपाली राजनीतिको जग प्रदान गर्दछन् । वैदिक सनातन, बौद्ध र मुन्धुम धर्म नेपालका राष्ट्रियब विरासत र गौरव हुन् ।
विचारहरूले व्यवहारमा कार्यन्वयन हुने सिद्धान्त दिन्छ, त्यो व्यवहारिक सिद्धान्तले नीति बनाउँछन्, नीतिले प्रणाली बनाउँछ, र प्रणालीले राज्यको शासन सामथ्र्य निर्माण गर्छ।
२. विश्वका दृष्टान्तहरूः विचारले नेतृत्व गरेको परिवर्तन
रूसमा, सोभियत संघको पतनपछि नवउदारवादको आयातले राष्ट्रलाई संकटमा पुर्यायो । त्यतिबेला अलेक्जेन्डर दुगिनले युरेसियन सभ्यता र चौथो राजनीतिक सिद्धान्तको अवधारणा दिए । रुस आज महाशक्तिमा पुनस्र्थापित भएको छ । यो आर्थिक शक्ति समेत बनेको छ । दक्षिण–दक्षिणको एकता निर्माणको एक प्रणेता पनि बनेको छ। चीनमा, माओका दस अन्तरविरोधहरुको व्यवस्थापनको अवधारणाको विचारलाई कार्यमूलक रुपान्तरण देङ सियाओपिङले गरे । ‘वस्तु बजार समाजवाद’, ‘कानुन बमोजिम शासन’ र ‘नागरिक सहभागिता आधारित लोकतन्त्र’ चीनको विचारपरक सुधारका आधार बने ।
यी दुवै मुलुकमा व्यक्ति होइन, विचारले नेतृत्व गर्यो । चीन आज एउटा मूल अन्तराष्ट्रिय शक्ति हो ।
३. नेपालमा विचार होइन, व्यक्तिको मोडेल हावी
नेपालमा राजनीतिक बहस विचारमा होइन, व्यक्तिको वरिपरि केन्द्रित छ । रवि मोडेल, बालेन मोडेल, हर्क मोडेल, सुमना मोडेल, सिके मोडेल जस्ता नामहरू चर्चामा छन्, तर यिनले शिक्षामा, स्वास्थ्यमा, परराष्ट्र नीतिमा वा अर्थतन्त्रमा ठोस वैकल्पिक नीति प्रस्तुत गरेका छैनन् । देशभक्तिको नारामात्र बोकेर राजनीति गर्ने तर ठोस वैचारिक कार्यक्रम नदिने प्रवृत्ति नेपालमा बढ्दो छ।
४. सामाजिक संजालको राजनीतिक पतन
वर्तमान राजनीति सामाजिक संजालबाट संचालित हुँदैछ । सञ्चारमाध्यम र सामाजिक सञ्जाल मिलेर व्यक्तिको चरित्र हत्या र न्यायिक निर्णयको नक्कल गर्दैछ । ‘गुगल पुर्पक्ष’ र ‘मिडिया पुर्पक्ष’ बाट व्यक्तिहरूलाई सार्वजनिक रूपमा अपराधी घोषित गरिन्छ । यसै आधारमा नेता बन्ने होड चलेको छ, विचार विना वैकल्पिक बन्ने नाममा भीडतन्त्र जन्मिएको छ।
५. अब के गर्ने ?
नेपालमा परिवर्तन आवश्यक छ, तर त्यो विचारबाट निर्देशित हुनुपर्छ – सनकबाट होइन ।
प्रस्तावना
– सरकारले मिडियाको स्वतन्त्रताको विरोधमा नगइकन मिडियाबाट हुने अपराध र न्यायको विकल्प बन्ने चाहना कानुनद्वारा नियन्त्रण गरोस् र नागरिकको मर्यादा संरकक्षण गरोस् ।
– मिडियाले न्यायालयको भूमिका नखेलोस् ।
– सामाजिक सञ्जाल अपराधीकरण र विकृतिको अखडा नबनोस्–त्यसका लागि कानुनी नीति बनोस् ।
– नागरिक सर्वोच्चताको बाटो समातोस् ।
निष्कर्ष
२०८४ को निर्वाचनमा व्यक्तिहरुको होइन विचारहरूको प्रतिस्पर्धा होस् । अब गफ होइन, काम गर्ने र नमुना देखाउने राजनीतिमा प्रवेश गरौं । अबको राजनीति आर्थिक समृद्धि, सुख र खुसी निर्माण गर्ने विकासको सोच हो । नागरिक समतावाद हाम्रो लक्ष हो । त्यो प्राप्त नगरि समाजवादमा पुगिन्न ।