इजरायली ‘इन्टेलिजेन्स’

नारायण गाउँले ।
इरानी प्रत्याक्रमणको जोखिमका कारण इजरायली सडक र शहर सुनसान देखिएका छन् भन्ने पढियो । आक्रमण भयो भने तत्काल इजरायलमाथि सयौँ ब्यालेस्टिक मिसाइल एकैसाथ बर्साउने र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बललाई समेत निशाना बनाउने धम्की इरानले दिँदै आएको थियो । पक्कै यो प्रत्याक्रमण पहिलेको जस्तो साङ्केतिक या फेससेभिङ मात्रै नहोला । यसपल्टको इजरायली आक्रमण युद्धस्तरको देखिन्छ । टप सैन्य कमाण्डरहरू मारिएका छन्, मिसाइल र आणविक साइट ध्वस्त बनेको छ । यो युद्ध नै हो ।

इरानको धेरैजसो एअरडिफेन्स यसअघिकै आक्रमणमा ध्वस्त भएको रहेछ ! ब्यालेस्टिक मिसाइल त छ तर त्यसको अत्यावश्यक फ्युल उत्पादन गर्ने क्षमता उल्लेख्य रूपले ध्वस्त भएको रहेछ । इजरायली युद्धविमानहरू राडार छल्न सक्ने स्तरको अत्याधुनिक भएकाले तिनले बेरोकटोक आक्रमण गरेको देखियो । सैन्य शक्ति त सीमित होला, तर इजरायली इन्टेलिजेन्सचाहिँ दुनियाँ नै छक्क पर्ने खालको देखियो । सम्भावित इजरायली आक्रमणबारे डोनाल्ड ट्रम्पले पूर्वसूचना दिएको अवस्थामा पनि टप जनरल र आणविक प्राविधिज्ञहरूमाथि सटीक आक्रमण गर्न इजरायल सफल भयो । आणविक केन्द्रदेखि सैन्य हेडक्वार्टर र मिसाइल प्रोग्रामलाई टार्गेट गरेर त्यति ठूलो आक्रमण गर्दा पनि सर्वसाधारणलाई ठूलो क्षति पुगेको देखिएन ।

त्यति टाढा र सुरक्षित किल्लामा समेत त्यस्तो सटीक आक्रमण क्षमता भएको इजरायलले गाजामा भने सर्वसाधारणमाथि किन बम बर्साएको होला ? अनि सिङ्गो गाजा ध्वस्त हुँदा पनि हमासले अझै सर्वासाधरण नागरिकलाई बन्दी बनाएर इजरायललाई किन निहुँ दिइरहेको होला ? इरानको हरेक गतिविधि र जुन बङ्करमा लुके पनि नेतृत्वमाथि सूक्ष्म नजर छ भन्ने भयानक सन्देश इजरायलले दिएको देखिन्छ ।
इरानले इजरायललाई मान्यता दिएको छैन र उसको घोषित उद्देश्य इजरायललाई नक्साबाट हटाउनु रहेको छ । उसले इजरायलको चारैतिर हमास, हिजबुल्ला, हुथी जस्ता प्रोक्सी सैन्य सङ्गठन विस्तार गरेको छ र तिनैमापÞर्mत इजरायलमाथि हमला गर्छ । तर गत वर्षदेखि यी दुई देश प्रत्यक्ष द्वन्द्वमा छन् ।

इरानले विकास गर्दै गरेको भनिएको आणविक शक्तिलाई इजरायलले आफ्नो अस्तित्वमाथिको जोखिम ठानेको देखिन्छ । आफ्नो रक्षाका लागि इरानको आणविक केन्द्रमाथि आक्रमण गर्ने हक भएको उसको दाबी छ ।

इन्टेलिजेन्स र अमेरिका, यी दुई सबैभन्दा ठूला हतियार भएको इजरायल कसैलाई नसुन्ने र नगन्ने स्थितिमा देखिन्छ । इरानका मुख्य दुई शक्ति हमास र हिजबुल्ला लगभग ध्वस्त भएको स्थिति छ भने आन्तरिक रूपमा पनि कठोर धार्मिक शासन र अत्यधिक दमनविरुद्ध आमजनताहरूमा ठूलो असन्तुष्टि र विद्रोहको स्थिति छ । लामो नाकाबन्दीका कारण आर्थिक स्थिति पनि नाजुक नै छ । इजरायलभित्रै पनि नेतान्याहूको सरकार अनेक विवाद र समस्यामा जेलिएको छ र युद्ध सकिएको दिन ढल्ने स्थितिमा छ ।

इजरायलले गरेको जुन स्तरको आक्रमण र व्यापक क्षति छ, त्यसको जवाफ दिने हक पनि इरानसँग पक्कै छ । जति नै छिन्नभिन्न र असन्तुष्ट भएपनि जवाफी कारबाहीमा पक्कै सबै इरानी जनताको समर्थन रहनेछ । रसियादेखि चीनसम्मको भूमिका र साथ पनि कस्तो हुनेछ भन्ने हेर्न बाँकी छ । यो द्वन्द्व ठूलो युद्धमा परिणत हुन सक्ने सम्भावना पनि छ । हामीले चाहिँ एकदुई राउण्ड मिसाइल आदानप्रदान र वाक्युद्धमा यो प्रकरण सकिए हुन्थ्यो र शान्ति कायम भए हुन्थ्यो भन्ने कामना गरौँ । इजरायलमा हुनेहरूको ताजा अनुभव केकस्तो छ होला ? सकेसम्म सुरक्षित रहनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *