प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा म्याड्रिड लेभान्टेसँग २-१ गोलले स्तब्ध भएको हो ।
एल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिड खेलको शुरुवातमै १० खेलाडीमा समेटिएको थियो । खेलको नवौं मिनेटमा इडेर मिलिटाओले विपक्षी खेलाडीलाई गोल गर्ने अवसरमा लडाएपछि रेफ्रीले भिएआरको मद्दतमा उनलाई रातो कार्ड दिएका थिए । तर त्यसको चार मिनेटमा बित्न नपाउदै रियलले अग्राता लियो । टोनी क्रुसको सुन्दर पासमा मार्को एसेन्सीयोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

३२ औं मिनेटमा जोर्ज मिरामोनको पासमा लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई बराबरीमा ल्याए । ७८ औं मिनेटमा बर्धीको पासमा रोजेरले गोल गर्दै लेभान्टेलाई खेलमा अग्रता दिलाए । बाँकी समयमा थप गोल गर्न नसक्दा रियल २-१ गोल अन्तरले पराजित भयो । पराजित भएसँगै रियलले शिर्ष स्थानको एथ्लेटिकोसँग अङ्क दुरि घटाउने मौका चुकाएको छ । हाल म्याड्रिड २० खेलमा ४० अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।
