ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा सोमबार आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक संवाद गोष्ठीमा सभापति देउवाले देशको भूगोललाई ध्यानमा राखेर सबैलाई सम्बोधन गर्नेगरी योजना बनाउनुपर्नेमा जोड दिए ।
‘बजेटको सन्दर्भमा धेरै साथीहरूले सकारात्मक कुरा गर्नुभएको छ, कांग्रेसको आर्थिक नीति कस्तो हुने र नेपालको आर्थिक विकास कसरी हुने भन्ने विषयमा छलफल जरूरी छ । बिपी कोइरालाले पनि गाउँकै कुरा गर्नुभएको थियो, हाल गाउँ सिद्धिने अवस्थामा छन् । धेरैजसो पहाडबाट तराई–मधेस पसी सके, बाँकीलाई रोक्न ध्यान दिनुपर्ने छ’, सभापति देउवाले भने ।
उनले जलवायु परिवर्तनले समुद्री तह बढेको र हिमालहरू पग्लिएर नाङ्गो भइसकेको अवस्थामा यसलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
‘जलवायु परिवर्तनले नेपाल सबैभन्दा बढी पीडित भएको छ, यद्यपि हामीले वनजङ्गल बचाउन सकेको छौँ, तर पनि हिमाल बचाउन सक्ने अवस्था छैन । हामीले चाहेर मात्रै पनि हुँदैन, जलवायु परिवर्तनको असरबाट नेपाललाई बचाउनुपर्छ, यसबारे संसारभर आवाज उठाउनुपर्छ’, देउवाको भनाइ थियो ।