लन्डन । नाटोका महासचिव मार्क रुटले रुसको खतराको जवाफमा ट्रान्सअटलान्टिक गठबन्धनको हवाई र मिसाइल रक्षा क्षमतामा ‘चार सय प्रतिशत वृद्धि’ गर्न आग्रह गर्ने बताएका छन् ।
“रुसले माथिबाट कसरी आतङ्क फैलाउँछ भन्नेबारे हामीले युक्रेनमा देखेका छौँ, त्यसैले हामी हाम्रो आकाशको सुरक्षा गर्ने ढाललाई बलियो बनाउनेछौँ”, रुटले लन्डनको च्याथम हाउस थिङ्क–ट्याङ्कको भाषणमा भने ।
विश्वसनीय प्रतिरोध र रक्षा कायम राख्न उनले नाटोलाई ‘हवाई र क्षेप्यास्त्र रक्षामा चार सय प्रतिशत वृद्धि” आवश्यक रहेको बताए ।
उनका यी टिप्पणीहरू यस महिना नेदरल्यान्ड्समा हुने नाटो शिखर सम्मेलनभन्दा अगाडि आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धनका सदस्यहरूलाई उनीहरूको सैन्य बजेटमा ठूलो वृद्धिको घोषणा गर्न दबाब दिइरहेका छन् ।
ट्रम्पले नाटो सदस्यहरूलाई हालको दुई प्रतिशतको लक्ष्यबाट बढाएर आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म रक्षा खर्च बढाउन दबाब दिइरहेका छन् ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले गत हप्ता ब्रसेल्समा सहयोगीहरू पाँच प्रतिशत लक्ष्यमा सम्झौताको नजिक रहेको र यसलाई हेगमा हुने शिखर सम्मेलनमा औपचारिक बनाउन सकिने बताएका थिए ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेन विरुद्ध युद्ध सुरु गरेदेखि नाटो सदस्यहरूले आफ्ना रक्षा क्षमताहरू बलियो बनाउन हतार गरिरहेका छन् ।
“युक्रेनमा युद्ध समाप्त भए पनि खतरा हराउने छैन”, रुटले भने, “हामीलाई हाम्रो सामूहिक रक्षामा ठूलो छलाङ चाहिन्छ… हामीसँग हाम्रो रक्षा योजनाहरू पूर्ण रूपमा कार्यान्वयन गर्न थप बल र क्षमताहरू हुनुपर्छ । हाम्रा सेनाहरूलाई हजारौँ थप बख्तरबन्द सवारी साधन र ट्याङ्कहरू, लाखौँ थप तोपखानाहरू पनि चाहिन्छ ।”
रुटले अर्को हप्ता लन्डनको भ्रमण गर्दैछन् । लन्डनमा उनले बेलायतको नयाँ रक्षा रणनीतिलाई स्वागत गर्ने अपेक्षा गरिएको छ ।
बेलायतले गत हप्ता युक्रेनमा रुसले गरेको आक्रमणको प्रतिक्रियामा देशलाई पुनःसज्जित गर्न १२ वटा आणवि–सञ्चालित आक्रमण पनडुब्बी र छ वटा हतियार कारखानाहरू निर्माण गर्ने योजना घोषणा गरेको थियो ।