काठमाडौं । स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध केहिबेरमा हुने त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा टस हरेको छ । डुन्डेस्थित फोर्टहिलमा केहिबेरमा शुरु हुने खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । सोमबार भएको खेलमा अलराउन्डर करण केसीले अर्धसतकिय इनिंस खेलेपछि नेपालले घरेलु टोली स्कटल्याण्डलाई हराउन सफल भएको थियो ।
यता नेदरल्यान्ड्स भने सिरिजको पहिलो खेल खेल्न लागेको हो । नेदरल्यान्ड्स पछिल्लो समय उच्च लयमा रहेको छ । नेदरल्यान्ड्सले पछिल्लो ५ खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । हाल नेदरल्यान्ड्स २० खेलबाट १२ जित, ६ हार र दुई खेलमा अंक बाढ्दै २६ अंकको साथ दोस्रो स्थानमा रहेको छ ।
यता नेपालले भने पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा दुई हार बेहोरेको छ भने एक खेलमा अंक बाढेको छ । हाल नेपाल लिगको १३ खेलबाट ३ जित, ८ हार र दुई खेलमा अंक बाढ्दै ८ अंकको साथ तालिकाको सातौँ स्थानमा रहेको ।
नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच भेटमा नेदरल्यान्ड्सले तीन खेल जित्दा नेपालले दुई खेल जितेको छ । गत वर्ष फेब्रुअरीमा किर्तिपुरमा भएको एक खेलमा नेपाल विजयी हुँदा एक खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको थियो ।
नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने
