-जेपी गुप्ता ।
कुरो मन नपराइने हुनसक्छ । तैंले के गरिस् नि ! आफू कस्ता थियौ त भन्ने एक थरीको परपीडक जवाफ पनि आउला । यस मुलुकमा, जहाँ तथ्यको धरातलमा नटेकी अरूले बनाइदिएका कथ्यको आधारमा धारणाहरू बन्दछ–यहाँ के नै गर्न सकिन्छ। अब मूल कुरो..
नेपालका पहाड मधेस सबैतिरका अधिकांश राजनीतिक नेताहरू आफ्नै बर्कत, संघर्ष वा जन समर्थनबाट उदाएका हुन् तथा स्थापित छन् । शायद, यतिसम्मका लागि नेताहरूको व्यक्तित्व निर्माणमा अपवाद बाहेक कुनै बाह्यशक्तिको नगण्य सहयोग बाहेक कुनै निर्णायक योगदान नहोला । संघर्षका ती कठिन दिनमा भारत प्रवासका दौरान बिपी कोइरालालाई भारततिरका सीमावर्ती शहरहरूमा अतिथिगृह उपलब्ध थिएन। एसके जैन थिए काठमाडौंमा भारतका राजदूत । गिरिजाप्रसाद कोइरालाले इंडियामा मेडिकल पढ्नका लागि एक जना कार्यकर्ताका पुत्रलाई सिफारिस गर्नुभयो । दूतावासमा उनको अभिभावककै सामुन्ने राजदूतले सिफारिस फ्याँकिदिए । तत्पश्चात जीवन पर्यन्त गिरिजाबाबुले कहिल्यै कुनै सिफारिस गर्नुभएन । सुशील कोइरालाका साख्य भतिजका लागि पनि ।
कर्णाली पारीका २२ पुल नबन्दाको कुरा हो । कैलाली जानका लागि नेपालगंज रोडबाट भारत उत्तर प्रदेशको बरेलीबाट पलिया हुँदै गौरीफन्टाको जंगलको बाटो नेपाल छिर्नु पर्दथ्यो । समय अनुकूल नहुँदा जोकोहीका लागि पनि सम्साँझ गौरीफन्टा पार गर्न हम्मेहम्मे हुन्थ्यो । शायद आजका दिनमा शेरबहादुरजीलाई स्मरण नरहेको होला कि उहाँका सितारा बुलन्द नहुँदासम्म गौरीफन्टाको जंगल आरक्ष भित्र वन विभागको गेष्टहाउसमा उहाँले कहिल्यै बास पाउनु भएन भनेर । देउवाका नजिक रहेका टेकबहादुर चोख्याल यो संझिनका लागि जीउँदो रहनु भएन । माधवकुमार नेपाल गणतन्त्रका पहिलो प्रधानमन्त्री प्रचण्डलाई साइजमा ल्याउनका लागि नवोदित मधेसी जनअधिकार फोरम, नेपाललाई टुक्राइदिनु भयो ।
विजयकुमार गच्छदारलाई उपप्रम बनाई इतिहास रच्नु भयो । दुबैजना ललिता निवास प्रकरणमा देखिनु भयो । यदि उहाँहरू दुबैका प्राणरक्षा भएको हो वा हुनेछ भने, कुनै शक्तिशाली राष्ट्रको अदृश्य सहयोगले भन्दा पनि यिनै पार्टीहरूका बीच हुने गरेका सत्ता समझदारीका कारण अद्यावधि जोगिएको ठान्नुपर्छ । सत्य यही हो, अन्यथा सुशीला कार्की जस्ता सन्की जन्ड न्यायाधीशका बेदीमा कथित न्याय छटपटिएर क्रमशः निष्प्राण भएको सबैले हेर्न पाउने थिए । डा. बाबुराम भट्टराईजीको पनि यही अवस्था हुन्थ्यो । निमेषभर अन्तरको लाभ लिएर लोकमानसिंहको संवैधानिक प्रहारबाट तत्कालिन प्रधानमन्त्री प्रचण्ड जोगिनुभयो । त्यस घानमा प्रचण्डका साथै त्यसबेलाका सत्ता गठबन्धनका मित्र शक्ति काँग्रेसका देउवाजी पनि पर्ने निश्चित थियो । एक जना शिविर भ्रष्टाचारमा अर्का अरू नै बिषयमा ।
यस कारणले निमेषको अन्तर कि, यदि लोकमानसिंह कार्की उपर तत्काल महाभियोग दर्ता नगरिएको भए वा एकाध घन्टा पनि ढिलो भएको भए अश्वमेघका घोडालाई नियन्त्रण गर्न सक्ने यी दुई अजम्बरी सत्ता अपराजेयहरू त्यहीबेला राजनीतिको ब्रम्हनालमा पुग्ने थिए होलान् । त्यसबेलाको यो जोगाई यिनीहरूको सत्ता प्रपन्चबाट मात्र हुन सकेको हो । प्रधानमन्त्रीमा प्रचण्ड भारतको परिबन्दको रोजाई हो । प्रचण्ड हटाईएपछिको प्रधानमन्त्री केपी ओली भारतको पहिलो रोजाई हुने अवस्था थिएन । काँग्रेसको समर्थनबाट ओलीजी प्रधानमन्त्री भएपनि भारत राजी हुने अवस्था नरहेको सबैले जानेकै कुरो हो । यस अवस्थामा काँग्रेसले ओलीलाई प्रधानमन्त्री मान्यो । शायद, भारतको कुनै प्राथमिकता रहेको भएपनि त्यो काम लागेन ।
काँग्रेस र एमाले भारत वा अरू कसैको चाहनाले भन्दापनि एकार्काको सुरक्षाका लागि मात्र हालसम्म गठबन्धन चलाइराखेका हुन् । पहिलो मधेस आन्दोलनका बखत शिवशंकर मुखर्जी नेपालमा भारतका राजदूत हुनुहुन्थ्यो । फोरमका अध्यक्ष उपेन्द्र यादवका बारेमा राजदूतावासको अवस्था यो थियो कि त्यहाँको रोष्टरमा उपेन्द्र यादवको फोन नम्बर थिएन । यद्यपि पछि यो अवस्था रहेन । यस्ता अनेकौं सन्दर्भहरू याद गर्न सकिन्छ, जसबाट ज्ञात हुन्छ कि आजका धेरै ठूला नेताहरू आफ्नै कर्म, मेहनत, संघर्षको क्षमता तथा निरन्तरको प्रयासबाट स्थापित भएका हुन् । यस्ता नेताहरू जसको अतितमा कुनै शक्ति राष्ट्रहरू समाउने टेक्ने खालको हिमछिम थिएन ।
अनि यस्ता नेताहरू आज, जब सबै थोक खेलाउन सक्ने, राजयोगको उत्कृष्ट फल स्वयंले भोग गर्ने अवस्थामा पुगेका छन्–यसबेला यिनीहरू किन सबैखाले विदेशीहरूका सम्मुख ‘घुडासन’मा लम्पसार हुन्छन् ? प्रोटोकोल अनुरूपको सम्बन्ध तथा शिष्टाचारको व्यवहार भिन्नै कुरा हो । तर, आजभोलि प्रायसः देखिने ‘ट्रयाक टु’ वा यस भन्दा पनि तलका विदेशीहरूसँगको अपूर्व खाले शिष्टाचारमा बढोत्तरीको के कारण होला ? के उत्प्रेरणा हुन सक्छ ?