प्रज्जवल थापा । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युभेन्टसले स्पाललाई ४–० गोल अन्तरले पराजित गर्दै कोपाको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
घरेलु मैदाना एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन अल्भारो मोराटा, गिन्लुका फ्राबोट्टा, कुलुसेव्स्की र फ्रेड्रिको चिएसाले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । ३३ औं मिनेटमा कुलुसेव्स्कीको पासमा फ्राबोट्टाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा दुई गोल गरेको युभेन्टसले दोस्रो हाफमा पनि थप दुई गोल गर्याे । ७८ औं मिनेटमा चिएसाको पासमा कुलुसेव्स्कीले गोल गरेपछि युभेन्टस सहज जिततर्फ अगाडि बढेको थियो । खेलको अन्तिम मिनेटमा डा ग्रासाको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई ४–० गोलको सहज जित दिलाए । स्पालले युभेन्टसको पोस्टमा कुनै पनि गतिलो आक्रमण गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।
