काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ ।
एएफसी क्लब च्याम्पियनसिपमा टिम पठाउने लक्ष्यसहित एन्फाले प्रतियोगिता आयोजना गर्ने भनिएपनि चार क्लबले मात्र नाम दर्ता गरेपछि प्रतियोगिता नहुने भएको हो ।
एन्फाले यहि वैशाख २० गतेदेखि ए डिभिजन क्लबहरु समावेश गरेर प्रतियोगिता गर्ने निर्णय गरेको थियो । तर टिम दर्ता गर्नका लागि तोकिएको समय वैशाख १० गतेसम्म ४ टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता नहुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।
यसअघि ए डिभिजनका ९ क्लबहरूले तयारी समय कम भएको, प्रक्रिया नपुर्याई नकआउट प्रतियोगिता गर्न लागेको भन्दै नखेल्ने निर्णय गरेका थिए ।
तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित संकटा क्लबले मात्र बुधबारसम्म नाम दर्ता गराएका थिए ।
तोकिएको समयमा ४ टिमले मात्र नाम दर्ता गराएपछि एन्फाले बिहीबार नै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारणले लिगकम नकआउट प्रतियोगिता निर्धारित मिति वैशाख २० गते नहुने जानकारी गराएको हो ।
एन्फाले लामो समयदेखि लिग आयोजना गर्न नसकेपछि काम चलाउरुपमा लिगकप नकआउट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता नभएसँगै अब कुनैपनि नेपाली क्लबले एएफसी क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछैनन् ।