प्रधानमन्त्रीलाई हामीले भनेका छौ, जनतामा भएको असन्तुष्टिलाई घटाउँदै लैजानुपर्छः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काममार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बधोधन गर्दै खड्काले सरकारले कमजोरीहरु सच्याउँदै काङ्ग्रेस र एमालेबीच भएको सहमतिको आधारमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले सरकारले शैली बदल्नुपर्ने बताए । उनले भने, ‘सरकारले काम गर्ने कुरामा कतै तलमाथि भएको छ भने त्यो शैली बदल्नु छ । यसको मतलब राम्रो कामलाई सुधार गर्दै लाने, सरकार सञ्जाललाई राम्रो बनाउँदै जाने हो । प्रधानमन्त्रीलाई पनि हामीले भनेका छौ, आमनागरिकको मानसिकतालाई बुझेर समस्या सम्बोधन हुने गरि हाम्रो अभिव्यक्ति, निर्णय र काममार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउदै विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।’

खड्काले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *