अडिस अबााब । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले (डब्लुएफपी) इथियोपियामा रहेका ६ लाख ५० हजार कुपोषित महिला र बालबालिकालाई प्रदान गर्दै आएको खाद्य सहायता आर्थिक अभावका कारण आगामी मेइ महिनाबाट रोक्नु पर्ने जानकारी गराएको छ।
एजेन्सीले भनेको छ, “यदि चाँडै आर्थिक सहयोग प्राप्त भएन भने करिब ३६ लाख मानिसहरू आगामी केही साताभित्र सहायता पाउनबाट बञ्चित हुनेछन्।”
डब्लुएफपीले सन् २०२५ मा २० लाख आमा र बालबालिकालाई पोषण सहायता पुर्याउने लक्ष्य लिएको थियो। तर हाल सहयोग घट्दै गएकाले उक्त योजना प्रभावित भएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि तीन महिनाका लागि सबै प्रकारका वैदेशिक सहायता रोक्ने आदेश दिएपछि डब्लुएफपीसहितका अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू आर्थिक अभावमा परेका छन्। यस्तै, अन्य केही पश्चिमी मुलुकहरूले पनि सहयोग घटाएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार झन्डै १३ करोड जनसंख्या भएको इथियोपियामा एक करोडभन्दा बढी मानिसहरू भोकमरीको जोखिममा छन्।
टिग्रे क्षेत्रमा भएको गृहयुद्धका कारण लाखौँ मानिसको ज्यान गएको थियो भने करिब १० लाख मानिस अझै विस्थापित छन्। अम्हारा र ओरोमिया प्रदेशमा जारी हिंसाका कारण पनि सयौँ हजार मानिस विस्थापित भएका छन्।
साथै, छिमेकी मुलुकहरू सुडान र दक्षिण सुडानबाट युध्दका कारण हजारौँ शरणार्थी इथियोपियामा भित्रिँदै गर्दा अवस्था थप जटिल बन्दै गएको छ।
डब्लुएफपीले चेतावनी दिएको छ कि आवश्यक रकम समयमै जुट्न सकेन भने आगामी असार महिनाबाट झन्डै १० लाख शरणार्थीलाई दिइँदै आएको खाद्य तथा नगद सहायता पनि रोक्नुपर्ने हुन सक्छ।