काठमाडौँ । पाकिस्तानमा सम्पन्न ‘आठौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्परिट’ मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई सम्मान गरिएको छ ।
प्रधानसेनापति महारथी अशोकराज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्याएको योगदानको उच्च मूल्याङ्कनस्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको हो ।
उक्त सैन्य अभ्यास गत चैत २८ गतेदेखि यही वैशाख ५ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो ।
सैन्य अभ्यासमा सहभागी टोलीहरूबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशललगायत दक्षताहरूको परीक्षण गरिएको थियो ।
सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो । सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।