मोंगो (चाड) । अधिकारीहरूले एक गोलीकाण्डमा १०० भन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । त्यसक्रममा तीनजनाको मृत्यु भएको थियो । कारागार भ्रमण गरेका राज्यका गभर्नर घाइते भएका थिए ।
देशको मध्यमा रहेको मोंगो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो ।
‘त्यहाँ करिब १०० जना भागेका छन्, तीनजनाको मृत्यु भएको छ र तीनजना घाइते भएका छन्,’ मोंगो अवस्थित गुयेरा प्रान्तका महासचिव हसन सुलेमाने एडमले भने ।
एक स्थानीय मोंगो अधिकारीले नाम नछाप्ने सर्तमा कैदीहरू बन्दुक चोरी गर्न प्रबन्धकको कार्यालयमा प्रवेश गरेको बताए । ‘त्यसपछि गार्डहरूसँग गोली हानाहान भयो । त्यही समयमा गभर्नर आइपुगे । उनी घाइते भए,’ उनले भने ।
मोंगो अधिकारीले त्यहाँ तीनजनाको मृत्यु भएको पुष्टि गरे । र, भागेका कैदीको कुल संख्या १३२ रहेको बताए । खाना अभाव भएको गुनासो गरेपछि कैदीले विद्रोह गरेको उनले बताए ।