काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको उल्लेख गर्दै समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्रीसँगको भेटमा शिक्षकका मागका विषयमा दृढता र शिष्टतापूर्वक आफ्ना कुरा राखे पनि परिस्थिति सकारात्मक बन्न नसकेको जनाएका छन् । अध्यक्ष सुवेदीले आफूहरू एकदुई सानातिना मागहरूको लेनदेन गरी फर्किने आन्दोलनमा नआएको स्पष्ट पार्दै विगतका सहमती सम्बोधन हुने ऐन नै मूल्य लक्ष्य रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं । विगतका सहमती सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेटबारे सबै कुरा साथीहरुबीच राखिने नै छ । परिस्थितिको समग्र मूल्याङ्कनकालागि तहगत छलफलहरु गरिनेछ । हामीले हिजोका दिनमा जे जे पाएका हौं आन्दोलनको बलमा नै पाएका हौं । अब पनि जे पाउने छौं, त्यो आन्दोलनकै बलमा पाउनै छौं । यो सत्यलाई हृदयंगम गरौं । सबै साथीलाई मर्यादित, संयमित र अनुशासति भएर आन्दोलनको मोर्चामा डटिहरन हामी आग्रह गर्दछौ ।’
भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको बताए । यस्तै शुक्रबार राति नै महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेको थियो । छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री र सभामुखसँगको भेटमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए । महासंघ चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छ ।