काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यु-१९ क्रिकेट विश्वकपमा स्थान बनाउन आज नेपाल र अफगानिस्तान भिड्दैछन् । मुलपानीस्थित तल्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे शुरु हुनेछ ।
आजको खेलमा जित निकाल्ने टोली आगामी वर्ष जिम्बाव्वे र नामिबियामा हुने विश्वकपमा छनोट हुने भएकाले दुवै टोलीलाई जितको विकल्प छैन । नेपाल र अफगानिस्तान यसअघिका सबै तीन खेल जित्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा ओमालाई आठ विकेट, दोस्रो खेलमा युएईलाई डकवर्थ लुइस पद्दतिको आधारमा पाँच रन र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । यता अफगानिस्तानलेपनि पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठ/आठ विकेटले हराउँदा तेस्रो खेलमा युएई माथि डकवर्थ लुइस पद्दतिको आधारमा १ सय ८० रनले हराएको थियो ।
दुवै टोलीको समान ६/६ अंक भएपनि अफगानिस्तान नेटरन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, ओमान र युएई प्रतिस्पर्धा गरिरहेका छन् ।
छनोटको तयारी स्वरूप नेपालले अफगानिस्तानसँग एकदिवसीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल २-१ ले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ ।