कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।
पोखरा रङ्गशालाको क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौँले पाँच लाख र ट्रफी पुरस्कार पायो ।
फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए । वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे । किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए ।
काठमाडौँका लागि दीपेन्द्र रावतले तीन विकेट लिँदा मनोज यादव र सूर्य तामाङले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ ओभरको चौथो बलमा अलआउट हुँदै एक सय ८२ रन बनाएको थियो । अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारी खेल्दै ‘क्याचआउट’ हुन पुुगे ।
पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए । शिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन–तीन विकेट लिएभने विपीन खत्री र मिलन बोहोराले दुई–दुई विकेट हात पारे । प्रतियोगितामा काठमाडौँका दीपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान रु २० हजार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले पुरस्कार वितरण गरे ।
गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टिमको सहभागिता थियो । प्रतियोगितामा बागमती प्रदेशबाट चार र अन्य प्रदेशबाट दुई–दुईवटा टोलीको सहभागिता थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले एकेडेमीका संस्थापक रहेका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघिको पहिलो संस्करणको उपाधि मधेस प्रदेशले जितेको थियो ।