काठमाडौं । नेपाली कांग्रेसले निजामती कर्मचारीको कुलिङ पिरियड दुई वर्षको राख्न सुझाव दिएको छ ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकबारे उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा कांग्रेस सांसद हृदयराम थानीले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने सुझाव दिएका हुन् ।
सांसद थानीले कुलिङ पिरियड कम्तीमा २ वर्ष राख्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक साँठगाँठ रोक्न पनि कुलिङ पिरियड चाहिन्छ । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? सबैलाई एउटै मापदण्ड तयार गरौँ । कतै एक वर्ष, कतै दुई वर्ष राख्ने काम नगरौं ।’ सांसद थानीले अतिरिक्त सचिव आवश्यक नभएको बताए ।
नेकपा एमालेका सांसद रघुजी पन्तले ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था गरिँदा ६० वर्षे उमेरहदका कारण अवकाश भएकाले भने पूरा अवधि नियुक्ति खान नपाउने बताए ।
उनले कुलिङ पिरियड राखे पनि एक वर्षको अवधिमा राख्न सकिने बताए । उनले भने, ‘कुलिङ पिरियडकोबारेमा हामी स्पष्ट हुनुपर्छ । ६० वर्षमा रिटायर्डमा हुने मान्छेले दुई वर्ष राख्यौँ भने त यसमा उसले संवैधानिक निकायमा आफ्नो काम गर्न सक्दैन । सबै कुरालाई ध्यानमा राख्दाखेरि काम गर्नको लागि सरकारले हात बाँध्ने होइन ।’
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियड कम्तीमा पनि २ वर्ष हुनुपर्ने बताए । उनले कुटनीतिक कर्मचारीहरूको लागि नराख्ने र अन्य कर्मचारीको लागि राख्ने विभेदकारी व्यवस्था गर्न नहुने बताए ।
नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सबै निजामती कर्मचारीको लागि कुलिङ पिरियड एउटै मापदण्डअनुसार हुनुपर्ने बताइन् । उनले सबै कर्मचारीको हकमा दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने बताइन् ।
उनले भनिन्,‘सबै कर्मचारीको लागि कुलिङ पिरियड एकै नासको हुनुपर्छ । २ वर्ष बनाउँदा ठिक हुन्छ । सबैका लागि एउटै ऐन बनाउनुपर्छ । विशेष मातृत्वमा बिदाको सुविधा दिनुपर्छ ।’