काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथि घटनाको छानबिन थालिएको जानकारी दिए ।
दुबईबाट काठमाडौं आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
‘उक्त घटनामा देखिएका प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर छानबिन थालेका छौँ, छानबिनपछि यकिन कुरा आउँछ,’ तामाङले भने ।
ट्रली बाहिर ल्याएको विषयमा विमानस्थलकै कर्मचारीसँग विवाद भएको र त्यसपछि विवाद भएको जनाइएको छ । सामाजिक सञ्जालमा प्रहरीको व्यवहारको आलोचना भइरहेको छ । उनी वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलमा भन्सार जाँच पासपछि उक्त घटना भएको थियो ।