प्रज्जवल थापा । फ्रान्सेली फर्वार्ड करिम बेन्जिमाको दुई गोलको मद्दतमा रियल म्याड्रिडले ला लिगामा सहज जित निकालेको छ । गएराति भएको खेलमा म्याड्रिडले डिपोर्टिभो आल्भेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमले दुई गोल गर्दा इडेन हजार्ड र केसिमिरोले एक/एक गोल गरे । आल्भेसको लागि जोसेलुले गरेको गोल सान्त्वना गोलमा सिमित भयो । म्याड्रिडले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १५ औँ मिनेटमा टोनि क्रुसको पासमा केसिमिरोले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४१ औँ मिनेटमा हजार्डको पासमा करिम बेन्जिमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा क्रुसको पासमा हजार्डले गोल गर्दै म्याड्रिडलाई सहज स्थितिमा पुर्याएका थिए । ५९ औं मिनेटमा लुकास पेरेजको पासमा जोसेलुले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर ७० औँ मिनेटमा लुका मोड्रिकको पासमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई ४-१ गोलको स्थितिमा पुर्याए । बाँकी समयमा थप गोल हुन नसकेपछि म्याड्रिड विजयी भएको हो । जितसँगै म्याड्रिडले शिर्ष स्थानको एथ्लेटिकोसँग दुरि ४ अङ्कमा झारेको छ ।
