‘सरकारले शुक्रबारको घटनामा अब आफ्नै गृह प्रशासनमाथि छानबिन गर्नुपर्छ’

काठमाडौं । गत शुक्रबार काठमाडौंको तिनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले ज्यान गुमाए भने कयौं घाइते भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाए । त्यसैगरी तिनकुनेको भवनमा भएको आगलागीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ । शुक्रबार दिउँसो प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए । तिनकुनेमा राजावादीको मञ्चमा प्रहरीले टियर ग्यास हानेपछि राजावादी उग्र बनेका थिए ।

त्यसपछि प्रदर्शनकारीले भवन जलाउनुका साथै तोडफोड सुरु गरेका थिए । प्रदर्शनकारी तिनकुने क्षेत्रका दर्जनौं घरमा तोडफोड गरेका छन् । त्यहाँबाट तिरवितर भएका प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादीको कार्यालमा तोडफोड र आगजनी गरे । त्यस्तै पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको मुख्यालयमा पनि उनीहरु आक्रमण गर्न पुगेका थिए । त्यसपछि उनीहरुले कोटेश्वरमा रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पुगेर लुटपाट मच्चाउनुका साथै सवारीसाधन तोडफोड गरे । त्यस्तै उनीहरुले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगजनी गरे । कान्तिपुर, अन्नपूर्ण मिडिया हाउसमा समेत उनीहरुले आक्रमण गरे । घटनाको दोष यतिबेला सबैले पूर्वराजा ज्ञानेन्द्रलाई लगाएका छन् । काठमाडौं महानगरले तोडफोडको जरिवाना तिर्न भन्दै निर्मल निवासमा पत्र पठायो ।

राजनीतिक दलले पनि पूर्वराजालाई नै दोष लगाएका छन् । सोमबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने बताए । घटनामा संलग्नहरुमाथि छानबिन सुरु भइसकेको र यसका योजनाकार तथा संलग्नमाथि सरकारले छानबिन र अनुसन्धान गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?’

प्रहरीले घटनामा संलग्न भएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशम्सेर राणालगायत लुटपाटमा संलग्न भएको आरोपमा दर्जनौंलाई पक्राउ गरेको छ । तर सरकारले घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गरेको छैन । प्रधानमन्त्रीले संसदमा सम्बोधनका क्रममा पनि न्यायिक आयोग गठनको कुरा उठाएनन् ।

तर प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) गत घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् । राप्रपा र रास्वपाले घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताएका छन् । रास्वपाका सांसद मनिष झाले भने, ‘तिनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन् । ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुङ्गा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शङ्कास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।’

संविधानविद डा. भीमार्जुन आचार्य सरकारले अब आफ्नै गृह प्रशासनमाथि नै घटनाको अबिलम्ब छानबिन गर्नुपर्ने बताउँछन् । उनको भनाई छ, ‘सरकारले अस्तिको प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरेपछि आफ्नो काम सकिए जस्तो भान पार्न खोजेको देखिन्छ । बाटोमा फर्कदै गरेको निहत्था नागरिकलाई गोली हानी मारेको भिडियो फूटेज सार्वजनिक भएका छन् । पत्रकार सुरेशजीका बारेमा पनि थुप्रै रहस्यहरू बाहिर आएका छन् । सरकारले अब आफ्नै गृह प्रशासनमाथि यी दुई घटनाको अबिलम्ब छानबिन गरोस् । यो समाज अझै पुरै मृत भैसकेको छैन, यो पनि हेक्का राखोस् !’

पूर्वराजाको संवाद सचिवालयले पूर्वराजालाई आरोप लगाइएको भन्दै आपत्ति जनाएको छ । बीबीसीसँगको कुराकानीमा संवाद सचिव डा. फणिराज पाठकले भनेका छन्, ‘स्थानीय प्रशासनले एउटा समितिलाई कार्यक्रम गर्न अनुमति दिन्छ अनि महानगरले राजालाई चिठी काट्ने? यो त राजामाथि सबैतिरबाट सुनियोजित रूपमा आक्रमण गरेको जस्तो देखिएन?’

सरकार र राजनीतिक दलले घटनाको दोष पूर्वराजालाई लगाउने अनि पूर्वराजाको सचिवालयले अस्वीकार गर्ने, त्यस्तै सविन महर्जनलाई गोली हानेको जुन भिडियो सार्वजनिक भएको छ, त्यसलाई हेर्दा यो घटनाको छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन विना बास्तविकता आउने सम्भावना कम छ । त्यसैले न्यायिक आयोग गठन गर्न सरकारले बिलम्व नगर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *