-नारायण गाउँले ।
यो फोटो वाग्मती नदीको मात्रै होइन, हाम्रो शहर, हाम्रो सभ्यता र हाम्रो चेतनाको तस्बिर हो । एउटा नदी यसभन्दा कुरूप शायदै बन्न सक्ला । यो नदीमा नुहाएर पवित्र र जलेर स्वर्ग गइने विश्वास छ । रोमदेखि पेरिस र मस्कोदेखि बर्लिनसम्म विश्वका प्रायः जसो ठूला र ऐतिहासिक शहर नदीछेउमैँ उभिएका छन् । ती शहरमा पनि जनसङ्ख्या हाम्रो भन्दा बेसी छ, नदी किनार ओगटेर बनेका सयौँ वर्ष पुराना बिल्डिङ् छन् । ढलदेखि फोहोर व्यवस्थापनको समस्या त्यहाँ पनि छ ।
तर हाम्रो वाग्मतीजस्तो अकल्पनीय दुरावस्था शायदै अरूको होला । धेरैजसो शहरका नदीमा आज पनि डुङ्गा चल्छन् । तिनको पानीमा शहरको ऐना हेर्न मिल्छ । ती नदी जलचर प्राणीसहित जिउँदा छन् । ती नदी शहरी सभ्यता र पर्यटनको केन्द्र पनि हुन् । अझ हाम्रो काठमाडौँबाट आकाश खुलेको दिन त विश्वकै अग्ला हिमशृङ्खला देख्न सकिन्छ । जति उत्तर र पानीको स्रोततिर बढिन्छ, त्यति नै मानव बस्ती र गतिविधि कम छ । र पनि नदी मृत्युशैय्यामा छ ।
यत्रो धार्मिक महत्त्व बोकेको र ऐतिहासिक काठमाडौँ शहरको मुटु मानिने वाग्मती नदीको यस्तो दुर्दशा त पक्कै सबैलाई बिझाएकै छ । सफाइदेखि जलाशय निर्माणसम्मका गतिविधि पनि भएकै छन् तर एक कदम बनाउँदा दुई कदम बिग्रिसकेको जस्तो अवस्था छ । अलि अस्तिसम्म नदीमा नुहाएको पुस्ता बाँकी छ । काठमाडौँ बाहिर यो नदी अझै बाँकी छ ।
भूमिगत जलको अत्यधिक दोहन काठमाडौँका नदी सुक्नुको मुख्य कारण हो । अव्यवस्थित शहरीकरण र भएका सार्वजनिक स्थानमा समेत अनियन्त्रित निर्माण कार्यले गर्दा भूमिगत स्रोत ’रिचार्ज’ हुन नपाएर सुक्दै छ । हिजो १० मिटरमा पानी आउँथ्यो, त्यो आज २० मिटरभन्दा तल पुग्यो । कति बोरिंगहरू छन् भन्ने कुनै स्पष्ट तथ्याङ्क छैन । जसले जति खर्च गर्न सक्छ, त्यति नै तलबाट निर्वाध पानी निकाल्न सक्छ । यो समस्या खतरनाक स्तरमा पुगेको छ । जब भूमिगत जलस्तर निकै न्यून हुन्छ, नदी र खोला त्यसै सुक्दै जान्छन् । माथिबाट अलिकति जल बगाएर नदी बाँच्दैन ।
कानुन बनाएर यसलाई आंशिक नियन्त्रण गर्न त सकिएला तर पानीको सस्तो र वैकल्पिक सप्लाई नहुँदा यो रोकिन्न । मेलम्चीको सपना दुई दशकअघि देखिएको थियो । त्यो अझै पूर्ण बनेको छैन । तर दुई दशकयता त सपना पनि बन्द जस्तै छ । सिङ्गो काठमाडौँमा एउटा पनि ठूलो जलाशय या पानीको भण्डार नहुनु दुःखद छ । एउटा पनि दलदल या सिमसार क्षेत्र बाँकी छैन । पोखरीहरू नाममात्रका छन् । बर्खाको पानी सोसिने खाली ठाउँ छैन । न ठूलो पार्क छ न हिजो छुट्याइएका गौचरन बाँकी छन् ।
वाग्मती नदी बचाउने हो भने ढल व्यवस्थापन र सफाइले मात्रै पुग्दैन । गोकर्णमाथि एउटा जलाशय मात्रै बनाएर पुग्दैन । एउटा एकीकृत गुरुयोजना चाहिन्छ जसले सिङ्गो काठमाडौँको जलाधारदेखि पिउने पानीसम्मको समस्या सम्बोधन गरोस् । भूमिगत जल दोहन रोक्नेदेखि बर्खाको पानी संरक्षण गर्नेसम्मका कुरा समेटियोस् । घरनिर्माणमैँ नक्सा पास गर्दा भूमिगत जल रिचार्ज गर्ने गरी प्लानिंग गर्न जरूरी देखिन्छ । हरेक सरकारी कार्यालय र खाली ठाउँमा यस्तो अभ्यास गर्न सकिन्छ । छिमेकी भारतले यस दिशामा स्थानीय प्रविधि प्रयोग गरेर ठूलो सफलता हासिल गरेको छ ।
एकअर्कामा दोषारोपण गरेर नदी फर्किन्न । यसको दोष र जिम्मा हाम्रो सामूहिक हो । यसलाई नदीकै रूपमा फर्काउने कर्तव्य पनि हाम्रो सामूहिक नै हो । तपाईंसँग पनि केही चिन्ता, चिन्तन र उपाय छन् कि ?