काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताएकी छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय बदर गरिदिएपछि कार्कीले सत्यको जित भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ। यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ।’
यस्तो छ कार्कीको प्रतिक्रिया
उम्मेदवारीमाथि विरोध दाबी गर्ने म्याद सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर म चुनावी प्रचारप्रसारमा भइरहेको बखत निर्वाचन आयोगले मेरो उम्मेदवारी खारेज गरेको थियो । न्यायको लागि म सर्वोच्च पुगें । सर्वोच्चले स्टे अर्डरमार्फत मेरो उम्मेदवारी कायम गरिदियो । त्यसको विरोधमा निर्वाचन आयोग पुनः सर्वोच्च पुगेर मेरो उम्मेदवारी खारेज नै हुनुपर्छ भन्ने दाबी राख्यो । निरन्तर दुई वर्षको लडाईं, पेसी र सुनुवाइपछि फागुन २७ मा बसेको न्यायधीशहरू डा. मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरी म संघीय संसद पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अन्तिम फैसला सुनाएको छ ।
सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्ततः अदालतले स्थापित गरेको छ। हामीलाई अदालतमाथि विश्वास थियो र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको छ । भ्रष्टाचार र वेथितिले थाङथिलो बनाईएको देशको राजनीतिलाई सङ्ल्याउन हामी जस्तो युवाको भूमिकामा थप जिम्मेवारीबोध गरेको छु।’