राजावादीको प्रदर्शनपछि गणतन्त्रवादीलाई विज्ञ, विश्लेषकका थरिथरिका सुझाव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गत आइतबार पोखराबाट काठमाडौं आउँदा स्वागतका लागि हजारौं मानिस सडकमा उत्रिए । उनीहरुले त्रिभुवन विमानस्थलबाट पूर्वराजालाई स्कर्टिङ गरी निर्मलनिवास पुर्याए । पूर्वराजाको स्वागतमा जनता उत्रिएको देखेपछि कतिपय दलका नेताले पूर्वराजाको कटाक्ष गरेका छन् भने कतिपय नेताले असन्तुष्टिको सम्बोधन गर्नुपर्ने बताएका छन् । राजनीतिक दलमध्ये सबैभन्दाबढी चिन्तित नेकपा माओवादी केन्द्र देखिएको छ । माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान नै स्थगित गर्यो । माओवादीसहितको समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिन चैत १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने निर्णय नै गरिसकेको छ । त्यस्तै प्रचण्डले पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण भएको संसदबाटै बताएका छन् । प्रचण्डकै भनाईबाट नै स्पष्ट हुन्छ कि दलहरुप्रति जनआक्रोश बढ्दो छ । अब दलहरु र त्यसमा पनि सरकार यो जनआक्रोशलाई सम्बोधन गर्नेतिर लाग्ने कि राजावादीलाई गाली गरेर बस्ने भन्ने सर्वत्र प्रश्न उठेको छ ।

राजावादीको प्रदर्शन देखेपछि विज्ञ र विश्लेषकले नेतृत्वमा बसेकाहरुलाई इतिहासको पाठ सिक्न सुझाव दिएका छन् । केहीले त प्रमुख दलका नेतालाई पूर्वराजासँग संवाद गर्न सुझाव दिएका छन् । त्यस्तै कतिपयले देउवा, ओली र प्रचण्डलाई एकठाउँ बसेर मुलुकको भविष्यबारे सोच्न सुझाव दिएका छन् ।

नेतृत्वमा बसेकाहरुले इतिहासबाट पाठ सिक्नुपर्छः रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री

नेतृत्वमा बसेकाहरुले हेक्का राख्नु पर्ने इतिहासको एउटा पाठ—अफ्रिकालाई औपनिवेशिक दासत्वबाट मुक्ति दिलाउने आन्दोलनका प्रमुख नेता क्वामे एनक्रुमा सन् १९५७ मा घानाको प्रथम प्रधानमन्त्री भए । असंलग्न परराष्ट्र नीतिका प्रणेता सुकार्णो, नेहरु, टीटो र नासेर सरहका एनक्रुमालाई अहंकार र असीमित शक्तिको चाहना बढ्न थाल्यो । १९६० मा कार्यकारी राष्ट्रपति भएपछि ‘गरीब जनताको तारणहार, त्यागी, तपस्वी’ को छवि बनाएका एनक्रुमा धन बटुल्ने, बटूल्दै जाने, बिलासिताका इम्पोर्टेड महंगा वस्तुहरु भोग्ने, संवेदनशील पदहरु बेचेर धन थप्दैजाने, राज्यका महत्वपूर्ण पदहरुमा भाइभतिजा, पिछलग्गुहरु भर्ने लत लाग्यो । हुँदाहुँदा एनक्रुमाले सुत्न सुनको पलङ पनि भित्राए । आर्थिक भ्रष्टाचार र राजकीय नियुक्तिमा भागवण्डाले सत्ता र प्रतिपक्ष दुबै जनताबाट टाढिँदै गए, प्रजातन्त्र बदनाम हुँदै गयो । सन् १९६६ मा सर्वशक्तिवान राष्ट्रपति चीनको राजकीय भ्रमणमा गए । विमानस्थलमा स्वागत गरेर ‘अतिविशिष्ट कक्ष’ मा पुर्याएपछि प्रधानमन्त्री चाउ एनलाईले सैनिक बिद्रोहद्वारा घानामा सत्ता परिवर्तन भएको घोषणा पढ्न दिए । पढेपछि आत्तिएका एनक्रुमाले आफ्ना कृपापात्र राजदूतलाई बोलाए । तर राजदूतले भेटन अस्वीकार गर्यो । एनक्रुमाले ठूला पदहरुमा राखेका नातेदारहरुलाई घानामा सम्पर्क गर्न खोजे तर कसैले पनि कुरा गर्न चाहेन । अन्तमा निराश भएर शरण लिन गिनिया गए । ६ वर्ष अपमानित जीवन भोगेर मरे । घानामा एनक्रुमालाई कसैले सम्झिँदैन ।

पूर्वराजा र राजनीतिक शक्तिहरु मिल्नुको विकल्प छैनः द्वारिकानाथ ढुंगेल, पूर्वप्रशासक

नेपाल सवै नेपालीको हो, अतः पूर्वराजा ज्ञानेन्द्र र राजनीतिक शक्तिहरु मिल्नुको कुनै विकल्प छैन । आमजनतालाई भुसुना ठानेर राज्यको श्रोत दोहन गर्ने, सार्वजानिक सयन्त्रलाई ध्वस्त गर्ने र निषेधको राजनीति गर्ने ओली, देउवा र प्रचण्ड एक व्यक्ति प्रतिको जनता सद्भावको प्रदर्शनबाट झस्किदै बर्बर गराउन थालेका छन् । आफूलाई ठूला ठान्ने केही संचारमाध्यम बर्बराहाट गर्नेको समर्थन गर्दैछन् । राजा ज्ञानेन्द्र पनि जनलहर देख्दैमा गम्मक पर्नु आवश्यक छैन । उनले पनि नयाँ पुस्तालाई मुलुकप्रति माया जगाउने काम तथा तिनको भविष्य मुलुकमै छ भनेर विश्वास दिलाउन सक्नुपर्दछ । साथै मुलुकको सम्बन्धमा राजनीतिक, आर्थिक, सामाजिक र कुटनीतिक खाका (Roadmap) स्पष्ट पार्नु पर्दछ । बाह्य शक्तिहरुलाई धमिलो पानीमा माछा मार्ने प्रयास नगर भन्ने सन्देश दिनुका अतिरिक्त राजनीतिक शक्तिहरुसँग संवाद सुरु गर्नुपर्दछ । देशलाई बचाउन चाहनुहुन्छ भने प्रधानमन्त्री ओलीजी पूर्वराजा ज्ञानेन्द्र सहित सवै शक्तिलाई एकै स्थानमा बसेर कुरा गर्ने वातावरण बनाउनु होस् । विदेशी शक्तिलाई पनि हाम्रा समस्या आफैं समाधान गर्दछौ भन्नुहोस् ।

निलाम्बर आचार्य, पूर्वराजदूत

देउवाजी, ओलीजी, प्रचण्डजी एक साँझसँगै बस्नुस् न, मुलुकको भविष्यबारे सँगै सोच्नुस् न । तपाईंहरूलाई संसदले जोडेको छ, तपाईहरू मित्र नै हो । तपाईंहरूका आआफ्ना सोच होलान्, तर देश बनाउन त स्थायित्व चाहिन्छ नि । आजको विश्वबारे पनि कुरा गर्नुस् । प्रचारमा उपयोग नगर्ने गरी गर्नुस् ।

डा. सूर्यराज आचार्य, राजनीतिक विश्लेषक

हालसम्म नेपालको राजनीति ‘उज्याला’ विचार र भावनाका आधारमा चलेको छ, तर मुलुकलाई भने अँध्यारोतर्फ धकेलेको छ । नयाँ होस् या पुरानो, अबको राजनीति योजना, कार्यक्रम, र परिणामका आधारमा सञ्चालन हुनुपर्छ । नत्र, राजनीतिसँगै मुलुक पनि अझै ओरालो लाग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *