प्रचण्डलाई गगन थापाले भने -आफू हुँदा मात्रै सबै ठिक, आफू बाहिरिएपछि सबै बेठिक भन्नु हाँस्यास्पद

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीको चलखेल बढ्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले जनताको असन्तुष्टि बढ्नुमा सबै सरकार दोषी रहेका बताएका हुन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई सबै आरोप सरकारलाई लगाए पन्छिने काम नगर्न आग्रह गरे ।

उनल भने, ‘आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा गर्नु हुुँदैन । प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ । हामी सबै त्यस्तै छौँ । सबैले गल्ती गरेका छौँ । आत्मालोचना गरौँ ।’

उनले लोकतन्त्रप्रति प्रचण्डले गरेको प्रतिबद्धताको सराहना गरे । उनले भने, ‘प्रचण्डजीले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु । हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’

उनले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *