हङकङसँग नेपाल पराजित

काठमाडौँ । चार देशीय महिला टी–२० सिरिजमा नेपाल पराजित भएको छ । सोमबार बेलुकी सम्पन्न खेलमा हङकङसँग दुई रनले पराजित हुँदै नेपालले सिरिजमा दोस्रो हार बेहोरेको हो ।

जितको लागि १ सय १ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३२, पुजा महतोले १९, विन्दु रावलले १४ र साना प्रविनले १० रनको योगदान गरिन् ।

यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१  तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई/दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक/एक विकेट लिए ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई÷ दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *