नेपाली कृषि आमा-बाबु विनाको बालकजस्तो किन बन्दैछ अनाथ ?

ऋषिराज लुम्साली ।
नेपालका ७ वटा विश्वविद्यालयहरूले कृषिक्षेत्रको प्रवद्र्धन र विकासको लागि के कस्ता औपचारिक शिक्षा दिइरहेकाछन् त भन्ने विषयमा परिचर्चा गर्नु अघि हाल नेपालमा कृषिभूमिको अवस्था के कस्तो छ त भन्ने बारे थोरै चर्चा गरौँ । नेपालको कृषिगणना २०७८ अनुसार १,४७,१८,१०० हेक्टरमा फैलिएको नेपालमा ५८,८७,२४० हेक्टर वनक्षेत्र, ४१,२१,०६८ हेक्टर जग्गा खेतीयोग्य क्षेत्र र १७,६६,१७२ हेक्टर जग्गा अन्य वन बुट्यानक्षेत्र वा घाँसे मैदानको रूपमा रहेको छ । खेतीयोग्य जग्गामध्ये हाल ३०,९०,८०१ हेक्टर(२१ प्रतिशत)मा मात्र खेती भैरहेको र १०,३०,२६७ हेक्टर जग्गा बाँझो अवस्थामा रहेको छ । वन बुट्यान र घाँसेमैदान पनि अतिक्रमणको चपेटामा परेको र भोलिका दिनहरूमा कृषिभूमिमै परिणत हुने देखिन्छ ।

कोशी प्रदेशको तराईक्षेत्रमा आवश्यक सिँचाइको अभाव एवं पहाडी र हिमाली क्षेत्रमा रोजगारी, शिक्षा सुविधा र स्वास्थ्य–सुविधाको अभावले बसाइँ सराईको तीव्रता बढेकाले श्रमशक्तिको अभावका साथै अनुपस्थित भूस्वामित्व अर्थात् जग्गा किनेर छोडिदिने र आफैं खेती नगर्ने जग्गाधनीले जग्गा ओगटीरहेको र त्यस्ता जग्गाधनीलाई जग्गा बाँझो राखे बापत कुनै जरिबाना नलाग्ने व्यवस्थाले बाँझो जमीनको क्षेत्रफल वर्षेनी बढिरहेको छ ।

घर बनाउन गरेका प्लटिङ जग्गाको बेचबिखनको कारणले भैरहेको जग्गाको खण्डीकरणले पनि स–साना टुकडे जग्गामा व्यावसायिक खेती हुन नसक्दा बाँझो जमीनको क्षेत्रफल वर्षेनी बढिरहेको छ ।आवश्यक यान्त्रीकरणको अभावले हलो–कोदालोको भरमा गरिने परम्परागत खेती प्रणालीले गर्दा र पहाड अनि तराइमा पनि पारिवारिक अंशबण्डाको कारणले भैरहेको जग्गाको खण्डीकरणले गर्दा बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ ।

छिमेकी भारतले किसानहरूलाई बिउ, मल, सिँचाइ, यान्त्रीकरण र बजारीकरण जस्ता कृषि कार्यमा प्रशस्त अनुदान दिने गरेकाले भारतीय किसानको उत्पादन सस्तो पर्ने तर नेपाली किसानको उत्पादन सरकारी अनुदानको सीमितता र कमीले महंगो पर्ने र खुला सिमानाको कारणले भारतीय सामानको निर्वाध ओइरो लाग्ने र त्यस्ता सामानसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्दा नेपाली किसानको खेतीमा अरुचि र निराशा बढेकाले पनि बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ ।
जलश्रोतको धनी मानिने नेपालको कृषियोग्य भूमिमा सिंचाइ–सुविधाको कमी वा अपर्याप्तताले वर्षमा ५ महिनामा तयार हुने मकै वा धानबाली जस्ता एकैबाली मात्र लगाएर बाँकी ७ महिना खेतबारी बाँझो रहनाले बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ ।

पहाड र मधेसबाट युवाहरूको भैरहेको तीव्र बसाइँसराईले गाउँघरमा बूढाबूढीहरू र हलो जोत्न नसक्ने महिलाहरू मात्र रहनाले धेरैजसो जग्गा बाँझो रहने र बाली लगाएको थोरबहुत जग्गामा पनि बाँदर, बँदेल र दुम्सी जस्ता जंगली जनावरहरूको आक्रमणबाट लगाएको बालीनाली असुरक्षित हुने र क्षतिभएको बालीको सरकारबाट क्षतिपूर्तिसमेत नहुनाले पनि खेतीमा किसानको अरुचिले खेतबारी बाँझो रहनाले बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ । समग्रमा भन्नुपर्दा नेपाली कृषि आमा–बाबु विनाको लाबारिसे बालक जस्तो अनाथ अवस्थामा पुगेकोछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *