डा. सूर्यराज आचार्य ।
रुस–युक्रेन द्वन्द्व अमेरिकन Neocons ले सोचेजस्तो भएन । रुसमाथि लगाइएको कठोर आर्थिक/वित्तीय नाकाबन्दीले अपेक्षाकृत रूपमा रुसको अर्थतन्त्र ध्वस्त पार्न सकेन । बरु, ‘अमेरिकाले डलरलाई सामरिक हतियारका रूपमा प्रयोग गर्यो’ भन्ने बुझाइसँगै डलरको विकल्प खोज्न BRICS जस्ता समूहहरू सक्रिय भए । त्यसैगरी, ‘गुरिल्ला’ युद्ध शैली अपनाउँदै सानो खर्चमा लामो समयसम्म टिकेर युक्रेनले रुसलाई अत्याउने योजना पनि सफल भएन। बरु, युद्ध लम्बिँदै जाँदा आणविक युद्धको जोखिम बढ्दै गयो ।
उता, युद्धको बढ्दो बोझ अमेरिकाले व्यहोर्नुपर्यो । अमेरिकाको बजेट घाटा तथा व्यापार घाटाको समस्या सम्हाल्नै नसकिने तहमा पुगेको अवस्थामा युक्रेन युद्धमा निरन्तरको वित्तिय सहयोग अमेरिकाका लागि सहज कुरा थिएन÷छैन। त्यसैपनि रुससँगको प्रत्यक्ष सैन्य टकराव अमेरिकी नीतिभन्दा बाहिरको कुरा थियो। त्यसैले, ट्रम्पको चुनावी एजेन्डा नै रुससँग सम्बन्ध सुधार्ने र युक्रेन–रुस युद्ध रोक्ने थियो ।
युरोपका देशहरू भने रुस–अमेरिका सम्बन्ध सुधारका पक्षमा छैनन् । युरोप–रुसबीच कुनै न कुनै रूपमा तनाव रहिरहने देखिन्छ, विशेष गरी युरोपेली मुलुकमा उठ्दै गरेको दक्षिणपन्थी राजनीतिक लहरमा रुसको समर्थन देखिन्छ। यसले गर्दा युरोपको लेफ्ट–लिबरल झुकावको वर्तमान नेतृत्व कुनै पनि हालतमा रुसलाई फाइदा पुग्ने कदममा सहमत देखिँदैन ।
युक्रेन–रुस युद्ध रोक्नु तथा रुससँगको सम्बन्ध सुधार्नु ट्रम्प प्रशासनको प्राथमिकता देखिन्छ । साथै, युरोपको सुरक्षाको बोझबाट अमेरिका मुक्त हुन चाहन्छ, ताकि उसको स्रोत/साधन चीनसँगको प्रतिस्पर्धामा एसियामा केन्द्रित गर्न सकियोस् । तथापि, चीनसँग सैनिक वा आर्थिक/व्यापारिक कस्तो प्रतिस्पर्धा ट्रम्प प्रशासनको प्राथमिकता हुन्छ भन्ने कुरा चैं समयले देखाउनेछ ।